अब पर्दामा ‘हिजो आजका कुरा’, अभिनयमा हिरोइनहरुको जम्बो टोली !
लामो समयसम्म सानो पर्दामा हिट बनेर रोकिएको टेलि सिरियल ‘हिजो आजका कुरा’ नाममा अब ठुलोपर्दाको फिल्म बन्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म बन्ने घोषणा भयो । सिरियल निर्देशन गरेका सन्तोष पन्तकै निर्माणमा बन्ने फिल्मलाई उनका छोरा साकार पन्तले निर्देशन गर्नेछन् ।
तिहारपछि छायाँकन हुने फिल्ममा कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने विषयवस्तु समेटिने सार्वजनिक प्रेस रिलिजमा उल्लेख छ । फिल्मको कथा सन्तोष र साकार दुबैको हो ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा सन्तोष पन्त र रमा थपलिया लिड अभिनयमा रहनेछन् । सानोपर्दामा सर्वाधिक रुचाइएको जोडी मध्येको एक हो सन्तोष र रमाको जोडी । यस्तै यो फिल्ममा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेबिका कार्की, विनायक कुइंकेल, सविन शाक्य, रमेश अधिकारी, अनुष्का घिमिरे अभिनयमा रहनेछन् ।
रवि सायमीले खिच्ने फिल्म कमेडी जनरामा तयार हुनेछ । कार्यक्रमका बोल्दै कलाकारहरुले बालापनमा हेरेर हुर्किएको सिरियलको पृष्ठभुमी र सोहि नाममा काम गर्न पाउनुलाई भाग्यमानी सम्झिए ।