Logo

रिलिज पुर्व सामाजिक कार्यमा ‘रातो टिका निधारमा’को पाइला

दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई आश्रय दिइरहेको गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनमा पुगेर फिल्म ‘रातो टिका निधारमा’ले दशैंको छेकोमा खुशियाली साटेको छ । कलाकारसहितको निर्माण टिम मंगलबार पुगेर सहयोग पनि गर्यो, आत्मियता पनि साट्यो ।

दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई कपडा उपहारसँगै खाना फिल्म टिमले खुवाएको थियो । त्यहाँ दशैँको टिका र जमरा लगाएर खुसिको माहोल पनि छर्यो । वेमेन्स रूम्स रिलोटेड (WRR) को सहकार्यमा असोज १० गते रिलिज हुने ‘रातो टिका निधारमा’ले फाउन्डेसनलाई सहयोग गरेको थियो ।

पहिलो पटक सामाजिक कार्यमा सहभागी हुन पाउँदा साम्राज्ञीले भावुक भएको बताइन् । ‘मैले अहिलेसम्म यस्तो खालको सहयोग गरेकी थिइन् । पहिलो पटक आफ्नै हातले अशक्त बालबालिकाको निमित्त सानो सहयोग गर्न पाउँदा खुशी लागेको छ ।’ भावी दिनमा समाज सेवामा आउने योजना रहेको बताउँदै साम्राज्ञीले सहि समयको पर्खाइमा रहेको बताइन् । ‘सामाजिक कार्यमा लाग्नलाई पहिले त मनैदेखि तयार हुनु पर्दछ । त्यसैले अहिले नै सबै ठाउँमा हात हाल्ने अवस्था छैन । भावी दिनमा अबस्य पनि तन-मन लगाएर सामाजिक कार्यमा हिड्नेछु ।

दशैँको छेकोमा अनाथ र अशक्त बालबालिकालाई सहयोग गर्दा निर्देशक अशोक शर्माले आफ्नो बाल्यकाल सम्झिए । ‘दशैँ भन्न बित्तिकै नयाँ कपडा र मिठो खानाको लागि सम्झिन्छौँ । मेरो बाल्यकालमा नयाँ कपडा लगाउन दशैँ नै कुर्नु पर्थ्यो । अहिले आएर दशैँको मुखमा सानो सहयोग गर्न पाउँदा आफुलाई भाग्यमानि ठान्छु ।’ निर्देशक शर्माले भावुक स्वरमा भने ।

यस्तै ‘रातो टिका निधारमा’बाट डेब्यु गरेका अंकित शर्माले यस्तो खालको सहयोगले मनमा सन्तुष्टि मिल्ने बताए । ‘कुनै बेला कपडा लगाउन दशैँ कुर्ने मेरो बुबाले हामीलाई यस्तो अभाव हुन दिनु भएन । तर, आज आएर असहायहरुलाई सहयोग गर्न पाउँदा मनैदेखि सन्तुष्ट भएको छु ।’ अंकितले भने ।

किरण शर्मा र कृति शर्माले निर्माण गरेको ‘रातो टिका निधारमा’ले वैदेशिक रोजगारको कथा उठाएको छ । रोजगारका कारण दशैँमा घर फर्किन नसकेका नेपालीको कथा फिल्मले बोल्नेछ ।

Comments