‘कमेडी च्याम्पियन’ लाई छानिए २४ प्रतिस्पर्धि
केहि महिनाअघि घोषणा गरिएको रियालिटी शो ‘कमेडी च्याम्पियन’को लागी अडिसन मार्फत २४ प्रतिस्पर्धि छनोट भएका छन् । आयोजक कम्पनिले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै डिजिटल र फिजिकल अडिसन मार्फत २४ प्रतिस्पर्धि छानिएको जानकारी दिएको हो ।
डिजिटल अडिसनमा मोबाइल एप , वेबसाइट , सामाजिक सञ्जाल पेजसँगै रेडियो अडियो मार्फत सहभागी दुइ हजार प्रतियोगी मध्येबाट निर्णायक मण्डलले एक सय पाँच छनौट गरेको थियो, गत असोज २ र ३ गते गरिएको फिजिकल अडिसनमा सहभागी एक सय पाँच मध्येबाट २४ छनौट भएका हुन् । उनीहरुले प्रत्यक्ष रुपमा निर्णायक माँझ आफ्नो कला प्रस्तुत गरेका थिए । जसलाई वरिष्ठ हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई को निर्णायक मण्डलले छनौट गरेको थियो ।
अन्तिम प्रतिस्पर्धाको लागी छनौट भएका २४ लाई कमेडी च्याम्पियन टिमले नै क्लोज क्याम्पमा राखेर मोनिटर गर्नेछ । उक्त प्रतियोगी मध्यबाट टप १५ लाई निर्णायकले नै छनौट गर्नेछन् भने त्यसपछि भोटिङ मार्फत कमेडी च्याम्पियनको विजेता चयन हुने आयोजकले बताएको छ ।
प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले ल्याएको हो । अभिनेत्री केकी अधिकारी , राज घिमिरे र सृजय थपलिया निर्माता रहेको शो विशाल भण्डारीको निर्देशनमा तयार हुने छ । पछिल्लो समय विदेशी फ्रेनचाइजको शोहरु बढ्दै गर्दा आफ्नोपन बोकेको कमेडी च्याम्पियनले दर्शकको माया र साथ पाउनेमा निर्देशक भण्डारी विश्वस्त छन् ।