क्यामेरा र छायाँकार नै नभएपछि सुटिङ नै नगरी फर्कियो ‘लप्पन छप्पन २’ टिम !
फिल्म ‘लप्पन छप्पन २’ को छायाँकनको लागी यूरोप पुगेका कलााकरहरु छायाँकन बीना नै देश फर्केका छन् । निर्माण टिमको समन्वय नमिल्दा दुई हप्ता जस्तो समय घुमघाम मै बिताएर कलाकारहरु शनिबार नेपाल फर्केका हुन् ।
अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपबिक्रम शाही लगायतका कलाकार सहितको १७ जनाको टिम फिल्म छायाँकनको लागी यूरोप पुगेको थियो । तर निर्माण टिमले छायाँकनको अनुमति सम्म नलिएको र छायाँकनको लागी क्यामेराको समेत व्यवस्था नभएपछि कलाकारहरुले घुमेरै समय बिताए । उता छायाँकार पुरुषोत्तम प्रधान समेत यूरोप नउड्दा बैकल्पिक छायाँकार समेत सेटमा नभएको जानकारी प्राप्त छ ।
निर्देशक मुकुन्द भट्टले युरोप छायाँकनको चाँजोपाँजो मिलाएका निर्माताहरुसँग खबर नै नगरी कलाकार लिएर बेल्जियम पुगेको रहस्य पनि खुलेको छ । कलाकार र प्राविधिक सहितको जम्बो टिम पुगेपछि छायाँकार र क्यामेरा समेत व्यवस्था नहुँदा निर्माता निर्देशकबीच मनमुटाब बढेको श्रोत बताउँछ । अन्ततः स्थानिय निर्माताले भने अब अष्ट्रेलिया छायाँकन गरेर मात्रै यूरोपमा फिल्म खिच्नमा सहमति जनाएका छन् ।
कलाकारसँगै यूरोप पुगेर फर्केका द्वन्द्व निर्देशक हिमाल केसीले भने, ‘निर्माण टिमको केहि तालमेल नमिल्दा फिल्मको छायाँकन हुन सकेन, मोन्टाज दृश्य मात्रै खिचेर फर्किनु परेको सत्य हो, ‘जति दिन यूरोपमा टिम रह्यो सबैलाई राम्रो ट्रिट दिएर स्थानिय व्यवस्थापनले नेपाल फर्काएको छ ।’ क्यामेरा नै सेटमा नभएको प्रश्नमा केसीले भने, ‘स्थानिय टिमले उतैबाट क्यामेरा मिलाउने भनेको कारण नेपालबाट लगिएको थिएन, उता पनि छायाँकनलाई आवश्यक पर्ने क्यामेरा नमिलेपछि सानो क्यामेरा ले नै केहि ‘मोन्टाज’ दृश्य मात्र खिचिएको हो । छायाँकार प्रधान पनि क्यामेराको व्यवस्थापन मै शंका गरेर यूरोप उडेका थिएनन् ।
यूरोप पुग्नु पहिले निर्देशक भट्टले केहि प्रतिशत छायाँकन नेपालमा गरेका थिए । अब फिल्मको बाँकी सुटिङ सेड्यूअल अक्टुबरलाई सरेको बताइएको छ । कलाकारहरुको समय मिलाएर युरोप र अष्ट्रेलियामा फिल्मको छायाँकन पुनः सुरु हुनेछ ।