Logo

‘च च हुई’ लाइ मच्चिनै हतार !

अभिनेता अर्यन सिग्देल स्टारर फिल्म ‘हजार जुनीसम्म’ यतिबेला हलमा प्रदर्शनरत छ । बिहिबारबाट प्रदर्शनमा आएको फिल्मले आफ्नो पक्षमा दर्शक जुटाउन संघर्षरत छ । फिल्म पछिल्लो केहि महिनासम्म सुनसान बनेका हलमा केहि मात्रामा भएपनि दर्शक भित्र्याउन पनि सफल बनेको चर्चा छ ।

फिल्ममा आर्यनले निभाएका दोहोरो भुमिकालाई दर्शकले पनि प्रशंसा गरिरहेका छन् । तर उनको एक फिल्म हलमा लागिरहँदा अर्को फिल्मको निर्माण टिमले भने आइतबार पोस्टर रिलिज गर्दै प्रचार थालेको छ । फिल्मको नाम छ ‘च च हुई’ । यो शब्द पिङ खेल्दा मच्चिने क्रममा प्रयोग हुन्छ ।

साम्तेन भुटियाले निर्देशन गरेको फिल्मको निर्माण टिमले नामजस्तै गतिमा पोस्टर रिलिज गर्यो । आफ्नै लिड अभिनेताको फिल्म हलमा लागिरहँदा कम्तिमा अझै एक हप्ता पर्खिने ठाउँ थियो, तर आर्यनको नाम मिडियामा आइरहँदा मौकामा चौका भने झैँ ‘च च हुई’ टिम भने पोस्टर रिलिज गरेर प्रचार सुरु गर्नमा लाग्यो ।

हुन त मिडियामा मुख्य कलाकारको नाम आइरहँदा फिल्मको नाम ‘क्यास’ गर्न निर्माण टिमले यसो गरेको हुनसक्छ, तर आर्यनका दर्शकलाई भने यो पोस्टर रिलिजको समाचारले अन्यौल थप्नेतिर भने निर्माण टिमले सोच्न सकेन । मंसिर ६ मा प्रदर्शनमा आउने फिल्मलाई आफ्नै हिरोको एउटा फिल्ममा हलमा लाग्दैगर्दा प्रचार अघि सार्नु के हतार ? ‘च च हुई’लाई मच्चिनै हतार हो ?

Comments