बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन
वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । शनिबार डल्लुस्थित आफ्नै निवासमा ७२ वर्षीय सुभद्राले सदाका लागी यो संसारबाट बिदा लिएकी हुन् ।
लामो समयदेखि दम रोगसँग लड्दै आएकी शुभद्राको शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ । बि.स: २००४ सालमा जन्मिएकी सुभद्रा परिवारमा १ छोरा र १ छोरी छन् । नेपाली फिल्म क्षेत्रको धरोहरको रुपमा योगदान दिएकी सुभद्राले सन् १९७४ को सिनेमा ‘मनको बाँध’बाट ठुलो पर्दाको अभिनय यात्रा थालनी गरेकी थिइन् । २२ वर्षको उमेरमा डेब्यु गरेपनि उनले ‘मनको बाँध’मा कपाल सेतो बनाएर पाको महिलाको भूमिका निर्वाह गरेकी थिइन् ।
सुभद्राले नेपाली नाटक हुँदै सिनेमामा अभिनयको यात्रा सुरु गरेकी थिइन् । पाँच वर्षको उमेरमै बालकलाकारको रुपमा नाटकमा स्थापित भैसकेकी सुभद्राले थुप्रै नाटक र सिनेमामा जिवन्त अभिनय पस्केकी छन् ।
चिनो, कन्यादान, बसन्ती, मुनामदन, बदलिँदो आकाश, बासुदेव, चट्याङ, अल्लारे, मिस्टर रामकृष्णे, बाटो मुनिको फुल, मसान, दशगजाजस्ता थुप्रै नेपाली सिनेमामा अभिनय गरेकी सुभद्रालाई नेपाल सरकार चलचित्र विकास वोर्डले २०७३ सालमा लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।