पर्वत कलाकार समाजबाट ‘संगीत साँझ’ घोषणा, २० लाखको अक्षयकोष खडा गरिने
२० लाख रुपैयाँ अक्षयकोष स्थापनार्थ ‘पर्वत कलाकार समाजले ‘पर्वत संगीत साँझ’ आयोजना गर्नेभएको छ । हालै राजधानीमा बसेको पर्वत स्थायी घर भएका कलाकारहरुको भेलाले कार्यक्रम गर्ने निर्णय गरेको हो । उक्त कार्यक्रम मुख्यतः समाजसेवा उद्देश्य केन्द्रित हुनेछ ।
बिजया दशमीको छेको पारेर आगामी असोज १४ गते हुने कार्यक्रम काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुनेछ । यतिबेला कार्यक्रमलाई भब्य बनाउने तयारीमा समाज जुटिरहेको छ ।
उक्त कार्यक्रमबारे पर्वत कलाकार समाजले अघिल्लो साता मात्रै विभिन्न पेशा तथा व्यवसायमा आवद्ध अगुवाहरुसँग काठमाडौंमा छलफल गरेको थियो । कार्यक्रममा प्राप्त सुझावकै आधारमा कार्यक्रमको ढाँचा तयार पारिएको जानकारी समाजले दिएको छ । यो ऐतिहासिक कार्यक्रमले पर्वतका कलाकारलाई एक ठाउँमा ल्याउने समाजका अध्यक्ष कस्तुप पन्तले बताए ।
अङ्ग्रेजी तारिख अनुसार १ अक्टोबरका दिन एकेडमी हलमा दुई बजेदेखि सुरु हुने कार्यक्रममा दशैं मनाउन विदेशबाट आएका सबै पर्वतबासीहरुलाई पनि निमन्त्रणा गरिने बताइएको छ । काठमाडौंमा कार्यक्रम आयोजनाको मिति घोषणा गरेपछि अध्यक्ष पन्त र उपाध्यक्ष लोकप्रिय लोक गायक यम क्षेत्रीले पर्वत सदरमुकाम कुश्मा पुगेर यसबारे स्थानीय पत्रकारहरु समेत जानकारी गराएका छन् ।
अध्यक्ष पन्त भन्छन्, ‘कार्यक्रमको उद्देश्य अक्षयकोष स्थापना हो । उठेको रकम रकम पर्वतमा सामाजिक सहयोग र पर्वतका प्रतिभाको सहयोगका लागि खर्च गरिने छ।’ उनले कलाकारहरु समाजका आदर्श हुन् भन्ने मूल मन्त्रमा रहेर यस्तो उद्देश्य राखिएको बताए । कार्यक्रमलाई उत्कृष्ट बनाउन कुनै कसुर नराख्ने महासचिव कृष्णसमिप सुवेदीले बताए ।