‘जाइरा’ आइटम गीत रिलिजः तनुजाको बोल्ड ठूम्का (भिडियो)
भाद्र ६ गते लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘जाइरा’को आइटम गीत रिलीज भएको छ । शुक्रबार इन्टरनेटमा रिलीज ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर समावेश छ । यो गीत पुरानो चलचित्र ‘मनको बाँध’मा रहेको गीतको रिमेक हो । उक्त चलचित्रमा रहेको गीतमा मिरा राणाको स्वर रहेको थियो ।
यस गीतमा बरिष्ठ गीतकार किरण खरेलले शब्द दिनुभएको छ भने शिव शंकरको संगीत रहेको छ । ‘जाइरा’को लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले रिएरेञ्ज गरेका छन् । शाहि नेपाल चलचित्र संस्थानद्वारा निर्मित तथा प्रकाश थापा निर्देशित ‘मनको बाँध’ सन् १९७४ मा रिलीज भएको थियो ।
‘यो मात चढेको साँझ’मा तनुजा गुरुङ्गले बोल्ड ठूम्का लगाएकी छन् । कोरियोग्राफर गोबिन्द राई हुन् । तनुजालाई अडिसन मार्फत यो गीतमा नृत्यको लागि छनौट गरिएको निर्माण टिमले बताएको छ ।
‘जाइरा’मा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी श्रेष्ठले यस फिल्ममा भने आफुलाई एक्सन प्रधान देखाएकी छन् । यो फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।
‘जाइरा’मा नम्रताको साथमा अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । पटकथाको काम निर्देशक श्रेष्ठ र निरोज महर्जनले सम्हालेका छन् । कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा तयार भएको हो ।