शितलनिवासमा विकास वोर्डको अवार्ड जात्रा
चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास वोर्डले पछिल्लो तीन बर्षदेखि आयोजना नै हुन नसकेको राष्ट्रिय चलचित्र पुरस्कार यो बर्ष एकसाथ वितरण गर्यो । २०७३ देखि २०७५ सम्मका विभिन्न विधाका विजेताहरुले एकै समारोहमा पुरस्कार थापे ।
एकमुस्ट रुपमा बाँडिएको पुरस्कार थाप्न पुरस्कार पाउने पुर्व जानकारीका बीच पुगेका सम्बन्धित विधाका विजेताहरु भीषण झरीको प्रवाह नगरी राष्ट्रपति भवन शितलनिवास पुगेका थिए । विकास वोर्डले कार्यक्रम त जेनतेन सम्पन्न गर्यो सकिएको साँझबाटै कार्यक्रमको र नतिजाको बारेमा प्रशंसा भन्दा आलोचना सुरु भयो ।
कार्यक्रमको व्यवस्थापकिय पक्षदेखि नतिजासम्ममा उपस्थित कलाकारहरुले नै चित्त मात्र दुखाएनन् केहिले त सामाजिक सञ्जालमा खुलेरै असन्तुष्टि पोखे । सुरु गरौँ अभिनेत्री करिश्मा मानन्धरको फेसबुक स्टाटसबाट ।
करिश्माले फेसबुकमा पोस्ट गरेकी छिन्, ‘एकादेशको कथा ,पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रग्या प्रथिस्ठान को हलमा कलाकारलाई हेर्न आउथे ! घर गएर नाच्न बिल्कुलै सुइकार्य छैन ।
बाहिर आउनुस तपाईं हाम्रो आमा हो । हामी तपाईंकोलागि ज्यान दिन्छौं ।’
करिश्माको यो पोस्ट राष्ट्रपति विधादेवी भण्डारीलाई लक्षित थियो । नहोस् पनि कसरी, गणतन्त्र आएपछिका सबै राष्ट्रिय चलचित्र पुरस्कार राष्ट्रपति भवनमा आयोजना हुँदै आएका छन्, जहाँ राजाकै शैलीमा विराजमान राष्ट्रपतिले पुरस्कार वितरण गर्दै आएका छन्, यसअघि रामवरण यादव राष्ट्रपति हुँदाको पालामा पनि यस्तै आएको थियो ।
उता २०७४ सालको पुरस्कार वितरण भइसक्दा धेरैको तारो त्यो बन्यो । जहाँ विधागत रुपमा उत्कृष्ट घोषणा गरिएका उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको पुरस्कारमा धेरैले शंका गरे । कार्यक्रममै उपस्थित भएर सबै दृश्य नियालेका एक फिल्मकर्मीले भने, ‘राष्ट्रिय पुरस्कारमा पनि चलखेल हुने रहनेछ, सेटिङकै भरमा सबै भएको देखियो, अन्य अवार्डलाई विरोध गरिन्थ्यो राष्ट्रिय अवार्डमा नै यस्तो भएपछि अवार्डको औचित्य नै के रह्यो र ?’
यो विषयमा ‘पञ्चायत’ फिल्मबाट २०७४ सालमा विभिन्न अवार्ड समारोहमा उत्कृष्ट कहलिएर पुरस्कार थापेकी अभिनेत्री नीता ढुङ्गानाले त सिधै अवार्डलाई सेटिङको संज्ञा दिइन् । उनले फेसबुकमा स्टाटस पोष्ट गर्दै फिल्म राम्रो बनाउन नपर्ने सेटिङ गरे पुग्ने कटाक्ष सहितको वाण जुरीलाइ तेर्साइन् । यसअघि उत्कृष्ट फिल्म घोषणा गर्दै विकास वोर्डले नै अस्कर अवार्डमा ‘पञ्चायत’लाई पठाउने निर्णय गर्नु र सोहि संस्थाको तर्फबाट वितरण भएको अवार्ड कार्यक्रममा यो फिल्मको नाम निशाना नरहनुले उनको विरोधलाई स्वभाविक देखाउँछ ।
उता फिल्म ‘जात्रा’ निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले त #NationalFilmAward (hastag) सहित राष्ट्रिय चलचित्र अवार्डलाई चलचित्र अवार्ड नभएर चलखेल अवार्डको संज्ञा दिँदै चलचित्रलाई खेलकुद मन्त्रालय अन्तर्गत राखियोस् लेखेका छन् भने निर्देशक प्रदिप भट्टराईले ‘कहिलेकाहिँ कपी जाँच्ने मान्छे परिक्षार्थी भन्दा कमजोर हुने र त्यसले रिजल्ट बिगार्ने भन्दै जुरीमाथी नै प्रश्न तेर्साएका छन् । चलचित्र समिक्षक समाजका अध्यक्ष यज्ञशले पनि अवार्डको नतिजामा असन्तुष्टि पोखेका छन् । यी त प्रतिनिधी लाइनहरु हुन्, यस्ता प्रकारका स्टाटस र पोष्टहरु धेरै फिल्मकर्मीले व्यक्त गर्दा ठुलो गरिमा बोकेको राष्ट्रिय पुरस्कारमा समेत प्रश्न उब्जिएको छ ।
यो अवार्डको कुरा रह्यो, अभिनेता सरोज खनाल प्रस्तुति समेत पस्किँदै कार्यक्रमको सोभा बढाउन शितलनिवास पुगेका थिए, तर त्यहाँ न उनले बस्ने कुर्सी पाए, न त अन्य कलाकारले झैं विराजमान हुने सोफा नै । ‘ट्वाइलेटको कमोड’मा बसेको तश्विर पोष्ट गर्दै कार्यक्रम सफल भएको दाबी गरेको वोर्ड र व्यवस्थापनलाई ठाडो चुनौती दिए । जुन एउटै तश्विरबाट प्रष्ट हुन्थ्यो कि विकास वोर्डले शितलनिवास जस्तो भिआइपी ठाउँमा कार्यक्रम गरेर अग्रज र पुराना कलाकारहरुको सम्मान गर्यो कि अपमान ?
अर्को रोचक कुरा के छ भने यो पटक तीन बर्षको अवार्ड एकसाथ बाँडिदा मनलाग्दी पाराले पुरस्कारका विधा थपिएको छ । राष्ट्रिय अवार्ड फिल्मकर्मीले आफ्नो कामबाट पाउने सर्वोच्च अवार्ड हो । यो अवार्डको महत्व र गरिमा पाउने नपाउने सबैलाई पक्का थाहा होला । तर राष्ट्रकै सर्वोच्च मानिने अवार्डमा विधा थप्दै मन लागेका र मन बुझाउन पर्नेहरु सबैलाई बाँड्दा के होला ? यसको उत्तर कि त विकास वोर्ड अध्यक्ष केशव भट्टराईसँग होला कि त जुरी सदस्यहरुसँग नै ।
कुरा यस्तो थियोः
२०७३ सालको पुरस्कार बाँडिसक्दा नयाँ विधा आयो उत्कृष्ट लोकप्रिय चलचित्रको । ‘छक्का पञ्जा’लाई पुरस्कार प्रदान गरियो । त्यस्तै २०७४ मा उल्लेखनिय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार (महिला, पुरुष) र २०७५ मा जुरी प्रोत्साहन पुरस्कार, चलचित्र व्यापार, विस्तार तथा प्रवर्धन सम्मान नामका विधा थप भएर पुरस्कार बाँडिए । उल्लेखित कुनै पनि विधा यो पहिलेका अवार्ड कार्यक्रममा समावेश थिएनन् । जसले प्रष्टै पार्थ्यो कि वोर्ड अध्यक्ष या त अवार्ड वितरणमा पहुँच राख्ने व्याक्तिहरुको इच्छा चाहनाकै कारण उल्लेखित विधाहरु थपिएका छन् ।
राष्ट्रिय पुरस्कार भनेको ‘क्रिटिक्स’ अवार्ड हो, जुन अवार्ड कमर्सियल कहिँ हुँदैन, विधागत उत्कृष्टता हेरेर सम्बन्धित कलाकर्मीलाई प्रदान गरिन्छ । थप गरिएका विधामा यदि वोर्डले पुरस्कार दिनु नै थियो भने वार्षिकोत्सवको नाममा असार १६ गते आयोजित कार्यक्रममा उल्लेखित विधामा पुरस्कार दिनसक्थ्यो राष्ट्रपति भवनमा लगेर विधा थपी थपी पुरस्कार प्रदान गर्नुको पछि पिठ्यूँ थमथमाउने बाहेकको विकल्प देखिँदैन ।
आलोचना हुनु आफ्नो ठाउँमा छ तर हुनै नसकेको पुरस्कार वितरण कार्यक्रमलाई गति प्रदान गर्नु राम्रो कुरा हो । तर पहिलेदेखि हुँदै आएको कार्यक्रमलाई निरन्तरता दिनुलाई मात्रै विकास वोर्डको प्रशंसनिय काम भन्न नसकिएला । वोर्डके यो बर्षदेखि पुरस्कारमा नगद राशी समेत थप गरेको कुरालाई भने पक्का प्रशंसा गर्न सकिन्छ । भोलीका दिनमा माथी उल्लेखित त्रुटीलाई मेटाउँदै र अग्रजको सम्मानसहित कार्यक्रम सफल बनाउन चलचित्र विकास वोर्ड र सम्बद्ध पक्षहरु लाग्नेमा कामना छ ।