‘धौलागिरी सांस्कृतिक समिति’द्वारा विभिन्न स्रष्टाहरु सम्मानित
‘धौलागिरी सांस्कृतिक समिति’ले धान दिवसको छेकोमा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता राजधानीमा सम्पन्न कार्यक्रममा विभिन्न स्रष्टा र सर्जकलाई सम्मान गरियो ।
भजनशिरोमणी सुर सम्राट भक्तराज आचार्यलाई ‘धौलागिरी राष्ट्रीय संगीत सम्मान’ प्रदान गरिएको छ । भजनशिरोमणीको प्रतिनिधिको रुपमा छोरा स्वरुपराज आचार्यले सम्मान ग्रहण गरे । ‘श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन्’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा ‘धौलागिरी साधना सम्मान’बाट गायक जीवन शर्मा, खड्ग गर्बुजा र बिमलराज क्षेत्रीलाई सम्मानित गरेको छ भने ‘धौलागिरी युवा सम्मान’बाट पछिल्लो समयको बहुचर्चित गीत ‘सालको पातको टपरी हुनि’ बोलको गीतका लागि गायक कुलेन्द्र बिश्वकर्मा,सङ्गीतकार वसन्त थापा र गीतकार नबराज पन्त लाई सम्मानित गरेको छ ।
‘गण्डकी सभ्यता बचाउ महाअभियान’मा समेत सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ गरिएको उक्त कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारसँगै विभिन्न विधाका विशिष्ट ब्याक्तित्वहरुको सहभागीता थियो । (असार पन्ध्र) धान दिवसको पूर्व सन्ध्यामा उपस्थित हुने सबैलाई आयोजकले दहि चिउरा खुवाएको थियो ।
करिब ६ सय बराबर धौलागिरीबासी र संगीत पारखीहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथी मदनकृष्णले धौलागिरी रहेसम्म र कालिगण्डकी बगेसम्म नेपालको कला संस्कृति जिवित रहने धारणा राखे । कार्यक्रममा समितिका अध्यक्ष कृष्णसमिप सुवेदीले अब हरेक बर्ष हिउँदमा धौलागिरी सांझ र बर्षायाममा धौलागिरी अवार्ड गर्ने घोषणा गरे ।