नेपालसँगै भारतका सात शहरमा ‘आप्पा’ रिलिज पक्का
आगामी असार ३ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘आप्पा’ नेपालसँगै भारतमा पनि रिलिज हुने भएको छ । यो फिल्म नेपाल रिलिजसँगसँगै भारतको नयाँ दिल्ली, कोलकता, मुम्बई, सिक्किम, आसाम, दार्जिलिङ, सिलोङ जस्ता मुख्य सहरहरुमा प्रदर्शनमा आउने निर्देशक अनमोल गुरुङले बताएका छन् ।
नारायणघाटमा पत्रकारसँग कुरा गर्दै निर्देशक गुरुङले आप्पा नेपालसँगै भारतका मुख्य शहरमा ‘सेम डेट’मा रिलिज हुने बताएका छन् । शुक्रबारआयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक गुरुङले ‘आप्पा’ राम्रो सिनेमा बनेकोले एक पटक हल सम्म पुगेर सिनेमा हेरेर लागेको प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरे ।
सिनेमा ‘आप्पा’ नेपाल सँगै भारतको २५ वटा हलहरुबाट एक साथ प्रदर्शन हुने निर्देशक गुरुङको भनाई छ । उनले लामो समय पछी नेपाली सिनेमा नेपालमा रिलिज भएकै दिन भारतमा पनि रिलिज हुन लागेको सुनाए । ‘नेपाली सिनेमाको बिदेशमा च्यारिटी शोजहरु त हुने गर्दछ तर एक साथ सिनेमा हलमा रिलिज भन्ने थोरै सिनेमा मात्रै हुने गर्छन् । त्यही विदेशमा समेत रेगुलर हलमा रिलिज हुने लक्की सिनेमा अन्तर्गत ‘आप्पा’ परेको उनको भनाई छ ।’
यस्तै, सिनेमाका मुख्य कलाकार दयाहाङ राईले ‘आप्पा’ दार्जि्लिङ देखी सन्दकपुर सम्मको यात्राको कथा रहेको बताएका छन् । उनले सिनेमा आफ्नो भूमिका बिर्खे नाम गरेको एक ड्राईभरको रहेको र त्यही ड्राईभरको वरीपरी नै कथा घुमेको खुलाए । एउटा ड्राईभरले गाडी चलाउँदा केके भोग्न पर्छ भन्ने कथा सिनेमाले उठान गरेको दयाहाङले बताए ।
बाबु छोराको सम्बन्धको कथा बोल्ने सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमा ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । सिनेमा आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ रिलिज हुँदैछ ।
सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।