नम्रताको जन्मदिनमा खुल्यो ‘जाइरा’को घुम्टो
अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो ३३ औं जन्मदिन प्रदर्शोन्मुख फिल्म ‘जाइरा’ टिमसँग मनाएकी छिन् । आगामी भाद्र ६ गतेबाट प्रदर्शनमा आउने फिल्म टिमसँगै शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच जन्मदिनको केक काटिन् । अभिनेता अनुपबिक्रम शाहि, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठले बधाइ दिए ।
यो चलचित्रमा उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । यसमा उनको होम प्रोडक्सन कम्पनीले पनि सहकार्य गरेको छ । यसैबीच नम्रताको जन्मदिनमा ‘जाइरा’ को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा मुख्यतः उनी फोकस्ड छिन् । फिल्मको मुल कथा नै उनको वरिपरि घुमेकाले निर्माण टिमले फिल्मको प्रचार सामाग्रीमा उनलाई नै विशेष स्थान दिँदै आएको छ ।
सार्वजनिक पोस्टरमा नम्रतालाई मार्शल आर्ट खेलाडीको लुक्समा देख्न सकिन्छ । यसका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् । ‘लभर गर्ल’ को भूमिकामा निकै रुचाइएकी नम्रताले ‘जाइरा’ आफ्नो लागि विशेष रहेको बताइन् । उनले आफूलाई हरेक फिल्ममा निभाएको क्यारेक्टर चुनौतीपूर्ण लाग्ने पनि बताइन् ।
आफू हरेक क्यारेक्टरलाई उत्तिकै महत्त्व दिने उनको भनाई छ । उनी भन्छिन्, ‘मैले मेरो क्यारेक्टरलाई शतप्रतिशत दिन सकिनँ भने दर्शकलाई सजिलै थाहा हुन्छ । दर्शकलाई झुक्याउन सकिन्न । त्यसैले म हरेक क्यारेक्टरलाई शतप्रतिशत दिने प्रयास गर्छु । मलाई हरेक क्यारेक्टर चुनौतीपूर्ण र हरेक फिल्म ड्रिम प्रोजेक्ट लाग्छ ।’ उनले ‘जाइरा’ बाट आफूले लभर गर्लको छवि मेट्ने प्रयास गरेको पनि बताइन् ।
‘जाइरा’मा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगर लगायतको अभिनय छ ।