कोमल वलीलाई जेठमै लाग्यो तीज !
गायिका तथा सांसद कोमल वली र तीज गीत पर्यायवाची जस्तै छ । पछिल्लो दुई दशकयता नै भनौं हरेकजसो तीजमा उनको गीत छुट्दैनन् अनि कोमलले कम्मर मर्काउन पनि छोड्दिनन् । एक न एक गीतमा उनी आफै नृत्यमा देखिन्छिन् ।
भदौ महिनामा पर्ने तीज पर्व आउन अझै तीन महिनाजस्तो बाँकी छ तर कोमललाई भने तीज लागिसकेको छ । जेठको अन्तिम साता चल्दै गर्दा बिहिबार उनि राजधानीको टेकुस्थित एक पार्टी प्यालेसमा तीज गीतमा कम्मर मर्काउँदै गर्दा भेटिइन् । कोमललाई उनकै बहिनी प्रज्ञा सरद (चौलागाइँ) ले साथ दिँदै थिइन् ।
उता अभिनेत्री टर्न कोरियोग्राफर पवित्रा आचार्य कोमललाई स्टेप सिकाउन ब्यस्त थिइन् भने यो सबै दृश्य कैद गरिरहेका थिए सिनेमाटोग्राफर रामेश्वर कार्कीले । कोमल र बहिनी प्रज्ञा सरद को स्वर समावेश उक्त गीतमा शब्द संगीत एकनारायण भण्डारीको छ । गीतको भिडियो छिट्टै नै सार्वजनिक गरिने बताइएको छ ।
फोटो, भिडियोः गणेश बस्याल