Logo

रिमा पाएपछि पर्दामा फर्किए भुवन, दोहोरो भुमिकामा ‘मिस्टर नेपाली’

देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुने गरी नयाँ फिल्म ‘मिस्टर नेपाली’ घोषणा भएको छ । राजधानीमा मुहर्तसँगै फिल्म निर्माणको घोषणा भयो । छायांकन पनि आजै (सोमबार)बाट सुरु भएको छ ।

चितवन र नवलपरासीमा यो फिल्मको छायांकन हुनेछ । प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको फिल्ममा देवनारायण भुषालको लेखन तथा निर्देशन रहनेछ ।

यो चलचित्रमा भूवन केसी र रीमा विश्वकर्माको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । फिल्ममा अभिनेता केसी दोहोरो चरित्रमा देखिदैछन् । उनका अनुसार, फिल्ममा उनी खलनायक र नायकको भूमिकामा देखिन लागेका हुन् ।

यस्तै, यो फिल्ममा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ । फिल्मबाट नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले डेब्यू गर्दैछन् ।

हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहने फिल्ममा लामो समयपछि देखिन लागेका अभिनेता केसीले भने, ‘मलाई सधै नै फरक भूमिका गरौं भन्ने लाग्थ्यो । यसपटक चलचित्रमा म खलपात्रको भूमिकामा देखिदैछु । यसैले नै काम गर्न लागेको हुँ ।’

उता रीमा विश्वकर्माले नायक भूवन केसीसँग पर्दा शेयर गर्न पाउँदा खुशी लागेको सुनाइन् । निर्देशक भुषालले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले फिल्मलाई पर्दामा उतार्ने बताए । ‘यो विशुद्ध मनोरञ्जनात्मक चलचित्र हो,तर यसले विशेषगरि विदेशमा रहेका नेपालीहरुमा नेपालप्रतिको मायालाई झल्काउनेछ, उनले भने ।

Comments