Logo

फिल्म निर्देशनमा खगेन्द्रको डेब्यू, ‘पानीफोटो’ निर्माण घोषणा

लोकप्रिय कलाकारको छबि बनाएका अभिनेता खगेन्द्र लामिछानेले फिल्म निर्देशन गर्ने भएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको निर्माण घोषणा भयो । खगेन्द्रले यसअघि नै लेखनको काम गर्दै आइरहेका थिए ।

पन्ध्र बर्ष पहिले बेपत्ता भएको छोराको पर्खाइमा बसेका आमाबुबाको कथामा बन्न लागेको फिल्मले द्वन्द्वको कथा बोल्नेछ । कार्यक्रममा कन्फिडेन्स देखिएका खगेन्द्रले निर्देशनको पहिलो पाइलालाई राम्रो बनाउने प्रयास बोले । खगेन्द्रकै लेखन रहने यो फिल्म उनकै निर्देशनमा बनेको नाटक ‘पानीफोटो’बाट अनुरुपण गरिएको हो ।

यो फिल्मका निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य छन् भने मुख्य अभिनयमा खगेन्द्रसँगै सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणी नेपाल, आशान्त शर्मा, श्यामकुमार शर्मा रहनेछन् ।

”पानीफोटो’ निर्देशन गर्नु मेरा सपनाहरु मध्येको एउटा मुख्य सपना हो’, खगेन्द्रले भनेका छन्, ‘फिल्म निर्माणमा लागेपछि सिकेका कुराहरुलाई सदुपयोग गर्दै इमान्दारीतापुर्वक यो फिल्म बनाउनेछु ।’

फिल्मको मुख्य सहायक निर्देशकका अनिल खड्का छन् भने छायाँकन दीपक बज्राचार्यको रहनेछ । निमेश श्रेष्ठ सम्पादनमा रहँदा छायाँकन आगामी भदौबाट सुरु हुनेछ भने प्रदर्शन मिति २०२० साललाई राखिएको छ । फिल्मको छायाँकन काठमाडौं, स्याङ्ग्जा, रोल्पा र चितवनमा हुनेछ ।

तश्विरः गणेश बस्याल

Comments