पहिलो ‘शो’मा ‘कुम्भ करण’लाई तारिफ
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कुम्भ करण’ले पहिलो दिनकै पहिलो शो मिडियाकर्मी तथा फिल्मकर्मीको लागी आयोजना गर्यो । राजधानीमा आयोजित ‘शो’मा मिडियाकर्मीको बाक्लो उपस्थिती थियो भने केहि फिल्मकर्मीको साथमा निर्माण टिम र कलाकारहरुले फिल्म हेरे ।
कमेडी जनराको फिल्मले पहिलो शो मा सकारात्मक प्रतिक्रिया पाएको छ । महिलो हाफसम्म दर्शकलाई हसाउँदै बाध्न सफल फिल्मको सेकेण्ड हाफ सस्पेन्सतिर अघि बढ्छ । तीन मुख्य कलाकार भोलाराज सापकोटा, गौरव पहारी र अभय बरालले लोभलाग्दो काम देखाएका छन् । तीनै जनाको अभिनय कलाले छिन-छिनमा दर्शकलाई हाँसो रोक्न दिँदैन ।
अभिनेत्री निशा अधिकारीको काम मध्यम छ । मुख्यतः नेपाली शिक्षकको भुमिकामा प्रस्तुत गौरवका संवादले फिल्मभरी रोमाञ्चकता थपेको छ । भोला र अभयको काममा खोट लगाउने ठाउँ छैन । फिल्म हेरिसकेपछि अधिकांश दर्शकले राम्रो बोले । सञ्चारकर्मी र फिल्मकर्मीबाट युवा निर्देशक दीपक वलीले बधाई र शुभकामना ग्रहण गरे ।
आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘कुम्भकरण’का कार्यकारी निर्माता रोम वली हुन्, भने आकाश पल र क्षितिज बस्नेत फिल्मका निर्माता हुन् । महेश दवाडीको पटकथा र संवादमा तयार फिल्मलाई हरि घलेले खिचेका छन् । वितरक करण श्रेष्ठले देशभरका सय बराबर पर्दामा यो फिल्म प्रदर्शनमा आएको बताएका छन् ।