अष्ट्रेलियामा भुइँमै ‘जात्रै जात्रा’ !
नेपाली हलहरुमा यतिबेला सफलताका साथ प्रदर्शनरत फिल्म ‘जात्रै जात्रा’ले देशमा मात्र नभइ विदेशमा पनि लोकप्रियता बढाउँदो छ । फिल्मको यतिवेला विदेशका विभिन्न सहरहरुमा शोजहरु चलिरहेका छन् । यो बीचमा अष्ट्रेलियाबासी नेपालीले फिल्मलाई अधिक माया दिएका छन् ।
निरन्तर चलिरहेका फिल्मका शोजहरु हाउसफुल बनेपछि त्यहाँ अवस्थित नेपाली दर्शकले भुइँमै बसेर फिल्म हेरेका छन् । मंगलबार व्रिजवेनमा भएको दोस्रो शो हाउसफुल भएपछि २० जना दर्शकले भूइ र सानो कुर्सीमा बसेर सिनेमा हरेका हुन् । हाउसफुल भइसकेपछि आएका दर्शकहरुले जसरी पनि सिनेमा हेर्नुपर्ने माग गरेपछि आयोजकले हल प्रशासनसंग अनुमति लिएर केही कुर्सी थप गरेको हो । थप कुर्सीमा बसेकाहरुलाई न्युन शुल्क लिएकाे आयाेजकले जनाएको छ ।
जवेनमा एकैपटकमा ६० वटा सम्म टिकट बेचेका अमृत खत्रीले यसअघिको कुनै पनि नेपाली सिनेमाको टिकटका लागि यति धेरै माग आएको आफुले थाहा नपाएको बताए ।
‘अन्तिम समयमा हलमा पुगेका दर्शकहरुले अनुरोधलाई नकार्न नसकेपछि हामीले विकल्प खोजेका हौं’, नेप्स्ब्रिजवेनका संचालक अरुण तिवारीले भने, ‘अब हामी अरु शोहरु ठुलो हलमा देखाउने तयारी गरिरहेका छौ।’ व्रिजवेनमा पहिलो २६० र दोस्रो शो भएको हलमा १७५ जनाको क्षमता थियो ।
त्यस्तै अष्ट्रेलियाको सिड्नी र तासमानियामा पनि शोहरु हाउसफुल भएका छन् । सिड्नीमा त दर्शकको चाप खेप्न नसकेर तोकिएको ४ शोलाई बढाएर ८ शो बनाइएको अष्ट्रेलियाको वितरण जिम्मा पाएको ‘हो र होइन होला’ इभेन्टले जनाएको छ ।
प्रदिप भट्टराई निर्देशित फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, सविन्द्र झा, दयाहाङ राई र बर्षा राउत लिड रोलमा छन् । विदेशका अन्य शहरहरुमा फिल्म प्रदर्शनको क्रममा छ ।