Logo

फिल्म निर्माणको प्रश्नमा हमालको जवाफः ‘मेरो प्राथमिकता कलाकारिता’

महानायकको उपाधि पाएका अभिनेता राजेश हमाल पछिल्लो ३० बर्षदेखि फिल्म क्षेत्रमा सकृय छन् । पछिल्लो क्रममा उनले फिल्म निर्माणमा हात हाल्ने भन्ने कुराले पटक-पटक चर्चा पाएपनि कहिले भन्ने प्रश्नको जवाफ हमालसँगै छैन ।

हमाल स्वयंमले मेकिङमा आउँछु भनिसकेका छन् तर यो भनेकै ३ बर्ष बितिसक्दा उनले कामको थालनी भने गर्न सकेका छैनन् । हालै गरिएको एक अन्तर्वार्तामा हमालले आफु कलाकार बन्न आएको र पहिलो प्राथमिकता कलाकारिता नै रहने बताएका छन् ।

‘तपाइँका समकालिनहरु निर्देशक, निर्माता बनिसक्दा तपाइँ सधैँ नायक किन भन्ने प्रश्नमा हमालले जवाफ फर्काएका छन्, ‘म सुरुवातको दिनदेखि नै कलाकार बन्न आएको हो, कलाकारिता विधाले नै मलाई आकर्षण गरेको हो, आफुलाई निर्माता निर्देशक भन्दा पनि कलाकार भएकोमै भाग्यमानी ठान्छु ।’

आफ्नो अभिनय यात्रालाई फर्केर हेर्दा केहि असन्तुष्टिका पाटोहरु र केहि चित्त बुझाउने कुराहरु रहेको भन्दै हमालले पहिलो फिल्म खेल्दा दोश्रो फिल्म कसले बनाउँछ भन्ने सम्म थाहा नभएको स्मरण गरे । हिजोको दिनमा एकै पटक धेरै फिल्ममा काम गर्दा आफुले स्कृप्ट नपढि अभिनय गरेको भन्ने आरोपलाई खण्डन गर्दै हमालले धेरै फिल्म बनोस् भन्ने चाहना राखेको, आफु एक जनाले लगातार काम गर्दा त्यसमा जोडिने जनशक्तिको पक्षमा पनि आफु उभिएको बताए ।

Comments