Logo

निर्माण निर्देशनमा विराज भट्टः ‘साङ्लो’ निर्माण घोषणा

एक समय नेपाली फिल्म क्षेत्रमा राज गरेका एक्सन स्टार विराज भट्ट अब फिल्म निर्माण र निर्देशनमा जुटेका छन् । करिब दुई दशक लामो चलचित्र क्षेत्रको करियरमा दर्जनौँ बढी चलचित्रमा काम गरेका उनको निर्देशनमा बन्ने गरी हालै फिल्म ‘साङ्लो’ निर्माण घोषणा गरियो ।

यो फिल्ममा पूर्व मिस नेपाल निकिता चाण्डक लिड हिरोइन छिन् । बैशाख २४ गतेबाट छायांकन सुरु हुने चलचित्रमा विराजसँग प्रकाश शाहले फाइट गर्नछन् । खलपात्रमा देखिँदै गरेका प्रकाशको लागी यो दोश्रो फिल्म हुनेछ । यसअघि उनले ‘लभ स्टेशन’मा काम गरिसकेका छन् ।

यस्तै ‘साङ्लो’मा विराज, निकिता र प्रकाशको अलावा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, अमित गिरिलगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रको छायांकन मानकृष्ण महर्जनले गर्नेछन , ‘साङ्लो”को केहि दिन अघि दुई दिनको छायांकन डोटीमा गरिएको अभिनेता तथा निर्देशक विराज भट्टले बताए ।

विराज भट्ट फिल्म प्रोडक्सन प्रा.लि. को ब्यानरमा चलचित्र निर्माण हुनेछ । चलचित्रको छायांकन ५० दिनमा पूरा गर्ने लक्ष्य लिइएको छ जसमा सुरेश अधिकारी , राजनराज शिवाकोटी र विनोद खम्बुको संगीत रहनेछ । काठमाण्डौ र सुदुर पश्चिमका केहि जिल्लामा चलचित्रको छायांकन हुनेछ । यसको स्कृप्ट शिवम अधिकारीले तयार पारेका हुन् ।

कोरियोग्रफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन् भने चलचित्रमा अष्ट महर्जनको द्वन्द्व रहनेछ । विराजलाई निर्देशनमा नवराज शर्माले सघाउने छन् । करिब २ करोडको बजेटमा चलचित्रको निर्माण गर्ने विराज भट्टले बताए। कथाको माग अनुसार निकितालाई चलचित्रमा छनोट गरिएको उनको भनाइ छ।

Comments