काठमाडौंका मल्टिप्लेक्समा ‘छक्का पञ्जा २’ नचल्ने पक्का, वेभसाइटबाट निकालियो पोस्टर
भोली अर्थात शुक्रबारबाट पुनः प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा २’ काठमाडौंका ठुला मल्टिपलेक्समा नलाग्ने पक्का भएको छ । हलिउड फिल्म ‘एभेञ्जर्स इण्डगेम’को छायाँमा छक्का पञ्जा सिक्वेलको दोश्रो सिरिज परेको हो ।
नेपालको ठुलो मल्टिप्लेक्स मानिने क्यूएफएक्स चेन अन्तर्गत काठमाडौंका कुनै पनि स्थानमा फिल्म लाग्ने छैन् । सिभिल मल, कुमारी हल, जयनेपाल, छायाँ सेन्टर, लाबिङ मलका सबै पर्दाका सबै शोजहरुमा एभेञ्जर्स लाग्ने पक्का भएको छ । क्युएफएक्सले यो फिल्मलाई अहिलेसम्मकै सबैभन्दा बढि शोज उपलब्ध गराएको छ । क्यूएफएक्समा यो फिल्मलाई ‘थ्री डी’ भर्सनमा ३० शोज र ‘टु डी’मा १४ शोज उपलब्ध गराइएको छ ।
बुधबारबाटै आक्रामक बुकिङ देखिएको उक्त फिल्मका शुक्रबारको लागी उपलब्ध गराइएका अधिकांश शोजहरु अग्रिम हाउसफुल भएपछि पुनः प्रदर्शनमा आउन लागेको ‘छक्का पञ्जा २’लाई क्युएफएक्सले स्थान नदिएको हो । फिल्मीनेपालसँगको कुराकानीमा क्युएफएक्सका एक पदाधिकारीले भने, ‘नयाँ रिलिजमा दर्शकको क्रेज मारामार छ, यस्तो अवस्थामा पुनः प्रदर्शनमा आउन लागेको फिल्मलाई कहाँ र कसरी स्थान दिनु ।’
यो बीचमा बिहिबार दिउँसोबाटै क्युएफएक्सको वेभसाइटबाट ‘COMING SOON’मा राखिएको ‘छक्का पञ्जा २’को पोस्टर हटाइएको छ । तर काठमाडौं बाहिरका चेनहरुमा भने उक्त फिल्म प्रदर्शनमा आउनेछ । यस्तै बिग मुभिजले पनि ‘छक्का पञ्जा २’लाई स्थान नदिने पक्का भएको छ ।
दुई बर्ष पहिले प्रदर्शनमा आइ रेकर्ड ब्रेक कमाइ गरेको ‘छक्का पञ्जा २’ लाई अब राजधानीका दर्शकले सिंगल स्कृनमा मात्र हेर्न पाउनेछन् । फिल्ममा दीपाश्री निरौलाको निर्देशन छ । दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का लगायत अभिनयमा छन् ।