Logo

अनमोल र सुहानाको केमेष्ट्रिले युट्युवमा रच्यो नयाँ रेकर्ड

अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’को शुक्रबार सार्वजनिक गीतले युट्युवमा रेकर्ड ब्रेक भ्यूज पाएको छ । ‘परान’ बोलको गीतलाई युट्युव रिलिजको २४ घण्टामै साढे १० लाख बढि पटक हेरिएको छ । यो नम्बर हालसम्म रिलिज नेपाली फिल्मका सबै गीत भन्दा बढि दाबी निर्माण टिमले गरेको छ ।

यसअघि ‘शत्रुगते’ फिल्ममा समावेश ‘रुपै महोनी’ बोलको गीतले २४ घण्टा भित्र साढे आठ लाख भ्यूज पाएको थियो भने ‘छक्का पञ्जा’मा समावेश ‘नाइलनको साडी’ले ८ लाख बढि भ्यूज युट्युवमा पाएको थियो । अनमोलकै फिल्म क्याप्टेनको ‘कर्ली कपाल’ले साढे सात लाख भ्यूज पाएको रेकर्ड छ । यो हिसाबले ‘ए मेरो हजुर ३’को टिपिकल नेपालीपना बोलेको गीतले रेकर्डेवल भिजिट पाएको देखिन्छ ।

सोहि फिल्मको गत हप्ता रिलिज ‘जीन्दगी नै भन्दिन’लाई दर्शकले २४ घण्टामा ८ लाख १० हजार पटक हेरेका थिए । युट्युवमा सार्वजनिक प्रचार सामाग्रीलाई दर्शकले दिएको साथ र मायाले निर्माण टिमलाई उत्साहित बनाएको छ । झरना थापा निर्देशित फिल्म यहि चैत्र २९ बाट प्रदर्शनमा आउँदैछ ।

सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द, आशिष अबिरलको संगीत रहँदा स्वरमा आशिषलाई साथ अञ्जु पन्तले दिएकी छिन् । मिक्सिङ एचबिएन किस्मतको छ ।

सुनिलकुमार थापाको निर्माणमा बनेको फिल्ममा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल लिड अभिनयमा छन् । डेब्यू गर्ल सुहाना निर्माता सुनिलकुमार र निर्देशक झरनाकी छोरी हुन् ।

यो पनि नछुटाउने कि !

Comments