फ्राइडे रिलिजः पर्दामा तीन फिल्म, दर्शकको रोजाइ कता ?
फ्राइडे रिलिज अन्तर्गत यो हप्ताको लागी पर्दामा तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । मल्टिप्लेक्स र सिंगल स्कृनमा एकसाथ प्रदर्शनमा आएका तीन फिल्म हुन्, ‘पुरानो बुलेट’, ‘जानी नजानी’ र ‘दि म्यान फ्रम काठमाडौं ।
पुरानो बुलेटः
भीषण राईको निर्देशनमा बनेको यो फिल्मले पुर्बेली गाउँले कथा पेस गरेको छ । फिल्ममा अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, बारात लिम्बु, करण धिताल, बादल श्रेष्ठ लगायत लिड रोलमा छन् । सन्तोष राई र भीषणको कथामा तयार बएको फिल्मले ग्रामिण भेगको एक पुरानो बुलेट चढ्ने युवाको जीवनको उतारचढाव बोकेको छ ।
जानी नजानीः
वसन्त अधिकारीको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ लगायत लिड अभिनयमा छन् । मोदनाथ खनाल र रोशनी केसीको निर्माणमा बनेको फिल्मले ‘कर्पोरेट लभ स्टोरी’को कथा बोकेको छ ।
दि म्यान फ्रम काठमाडौंः
नेपाली निर्माताले बनाएको हलिउड फिल्म भनेर प्रचार गरिएको फिल्मलाई पेमा धेण्डुपले निर्देशन गरेका छन् । यो फिल्ममा बलिउड कलाकार गुल्सन ग्रोवरको साथमा नेपाली कलाकार आना शर्मा, शिशिर बाङ्देल, कर्मा शाक्य, नीर शाह लगायत लिड अभिनयमा छन् । हराएका बाबु खोज्न एक युवकले अमेरिकादेखि नेपाल आएर गरेको संघर्षको कथा फिल्ममा जोडिएको छ । रिलिजपुर्वको प्रिमियर प्रतिक्रिया फिल्मको सुखद रहेन । क्युएफएक्सका मालिक नकिल उद्दिनले फिल्मलाई निर्माण गरेका हुन् ।
उल्लेखित फिल्म मध्ये ‘दि म्यान फ्रम काठमाडौं’ले मल्टिप्लेक्स तर्फ क्युएफएक्समा मालिककै निर्माण रहेकोले अधिकांश स्कृन कब्जा गरेको छ तर ओपनिङ शो को अकुपेन्सी २० प्रतिशत पनि नरहेको हल सञ्चालकबाट जानकारीमा आएको छ । अन्य दुई फिल्मले पनि दर्शक आफ्नो पक्षमा पार्न संघर्ष गरिरहेका छन् ।