Logo

रंगशाला बनाउन धुर्मुस सुन्तलीलाई खुत्रुकेबाट जुट्यो २२ लाख

धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश नम्बर २ बाट पहिलो चरणमा २२ लाख ४० हजार रुपियाँ संकलन भएको छ। फाउन्डेसनले प्रेस विज्ञप्तिमार्फत जानकारी गराए अनुसार नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं २ को संयोजनमा रंगशाला निर्माणका लागि महोत्तरीको बर्दिबासमा घोषणा गरिएको ‘खुत्रुके अभियान’मा सो रकम संकलन भएको हो।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’को उपस्थितिमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका पदाधिकारीहरूले २२ लाख ४० हजार ५ सय रुपियाँ सहयोग हस्तान्तरण गरेका हुन्। रंगशाला निर्माण अभियानका लागि चितवन पुगेका धुर्मुस सहयोग संकलन अभियानका लागि बर्दिवास पुगेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश–२ को संयोजनमा खुत्रुके महाअभियान शुरू भएको छ।

सीताराम कट्टेल ‘धुर्मुस’ले आफ्नोतर्फबाट १ हजार रुपियाँ खुत्रुकेमा खसालेर खत्रुके अभियान शुरूआत गरेका थिए। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी, उद्यमी, समाजसेवीहरूले रंगशाला निर्माणका लागि लाखौं रुपियाँ सहयोग गरेका थिए।

कार्यक्रममा बोल्दै धुर्मुसले खेलले नेपालको अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने हुनाले रंगशाला निर्माणमा सहयोग गर्न सहयोगी मनहरूलाई अपिल गरे। ‘सहयोगी मनहरूबाट सहयोग संकलन गरेरै चार वटा बस्ती बनायौं’, सीतारामले भने– ‘अन्तिम पटक सहयोग गर्न आग्रह गर्दै छु रंगशाला बनाउन। देशमा आशाको दियो बाल्न अघि बढेका छौं, दियोमा तेल तपाईंहरू मिलेर थपिदिनुस्।’

एकीकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु मुसहर र उनका भाइ मञ्जले ५–५ हजार सहयोग गरेका छन्। सहयोग संकलन गरेर बस्ती निर्माण गरिदिएका धुर्मुस–सुन्तलीलाई धन्यवाद दिँदै नेपाली सन्तती र नेपाललाई खेलकुदबाट अन्तर्राट्रियस्तरमा पहिचान बनाउनेले दिनको सय रुपियाँ वचत गरेर रंगशाला निर्माण गर्न सहयोग गरेका थिए।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश–२ का अध्यक्ष हीरा गौतमले प्रदेश–२ का आठवटै जिल्लामा सञ्चालित होटलमा रंगशाला निर्माणका लागि सहयोगार्थ खुत्रुके अभियानकै रूपमा खुत्रुके राखिने बताए।

Comments