Logo

शिल्पाले देखाइन् उदयिमान छनक, कस्तो रह्यो आशिरमानसँग ‘ब्रेकअप’ ?

हेमराज बिसी निर्देशित फिल्म ‘दि ब्रेकअप’ यतिबेला हलमा प्रदर्शनमा छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले बक्सअफिसमा सानदार सुरुवात गर्न सकेन । तर दर्शकले भने फिल्मलाई राम्रो बोलेका छन् ।

‘वर्ड अफ माउथ’ राम्रो पाएको फिल्मले शिवरात्री तथा यसपछिका दिनमा दर्शक आकर्षण गर्ने निर्माण टिमले विश्वास लिएको छ । ‘वर्ड अफ माउथ’ले आकर्षण दिएको खण्डमा साताभरी परेका दुई बिदाको फाइदा फिल्मले उठाउनसक्छ । समिक्षकले फिल्मलाई मिश्रित बोलेका छन् ।

नेपाल र अष्ट्रेलियाका छायाँकन गरिएको फिल्मले उठाएको ‘क्याजुअल लभस्टोरी’लाई युवा दर्शकले मन पराउँदा मुख्य कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्के तारिफका पात्र बनेका छन् । यो फिल्मबाट नै डेब्यू गरेकी शिल्पाको कामले फिल्म उधोगको लागी उदयिमानको छनक दिएको छ ।

शिल्पाको काम पहिलो फिल्ममा जस्तो देखिँदैन् ब्रेकअप हेरिसकेपछि एक फिल्मकर्मीले भने, ‘उनले संभावना देखाइसकिन् भोलीको दिनमा शिल्पाबाट नेपाली फिल्म उधोगले आशा गर्ने धेरै ठाउँ छ ।’ आशिरले पनि दोश्रो फिल्मसम्म आउँदा लोभलाग्दो काम देखाएका छन् । अन्य दुइ कलाकार इच्छा कार्की र रेमनदास श्रेष्ठले आशिर र शिल्पाबाट बाहिर निस्किँदा दर्शक होल्ड गर्ने काम प्रस्तुत गरेका छन् ।

उता फिल्मले सिनेमाटोग्राफी र ध्वनी मुद्रणमा पनि तारिफ भेटेको छ । नरेन्द्र मैनालीको कामले छायाँकनमा प्रशंसा भेटेको छ । रुपक थापा, दीपक खतिवडा र रेणु राणाको निर्माणमा बनेको फिल्ममा निर्देशक बिसीको पनि लगानी छ ।

शनिबार फिल्मले राजधानीका मल्टिप्लेक्समा दर्शकको साथ राम्रो भेट्यो । बिहानी शोजहरुमा कम देखिएको दर्शकको चाप दिउँसो बढेको थियो । क्युएफएक्स अन्तर्गत सिभिल मल, छायाँ सेन्टर तथा बिएसआर मुभिज, बिग मुभिज लगायतका हलका केहि पर्दा हाउसफुल पनि बने । फिल्मको आधिकारिक ब्यापारिक रिपोर्ट भने प्राप्त छैन ।

Comments