Logo

‘मारुनी’ शुभसाइत, साम्राज्ञी र रेबिकासँग रोमान्सलाई पुष्प तयार

फागूणको १३ गतेबाट छायांकन प्रारम्भ गर्न लागिएको फिल्म ‘मारुनी’को शुभमुहुर्त गरिएको छ । शुक्रबार काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरमा पूजा निर्माण टिमले शुभसाइत गरेको हो । फिल्मको छायांकन भने १० दिनपछि सुरु हुनेछ ।

छायांकार संजय लामा अर्को चलचित्रमा व्यस्त भएकाले यसको छायांकन केही ढिलो सुरु हुन लागेको हो । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गर्न लागेको यो फिल्मलाई नवल नेपालले निर्देशन गर्दैछन् । सह–निर्माताको रुपमा दर्शना केसी रहनेछिन् ।

‘मारुनी’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का र रेविका गुरुङको मुख्य भूमिका रहनेछ । यो फिल्ममा बाल–कलाकारको रुपमा कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्यको मुख्य भूमिका रहनेछ ।

कार्यक्रममा बोल्दै निर्मात्री पूनम गौतमले भनिन्–‘हामी एउटा फरक कथामा फिल्म निर्माण गर्दैछौ । दर्शकको मायाले यो फिल्म सफल हुनेमा विश्वस्त छु ।’ निर्देशक नवल नेपालले फिल्मले मनको कथा बोल्ने बताए । उनले फिल्म हेरिसकेपछि दर्शकलाई फ्रेस कथा लाग्ने बताए ।

फिल्मकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि कथा मनपरेपछि आफू काम गर्नका लागि उत्साहित भएको बताइन् । उनले भनिन्–‘म पहिलो पटक कुनै फिल्मको शुभसाइतमा मन्दिर आएकी हुँ । मन्दिर आएपछि अब आफ्ना सबै काम राम्रो हुन्छन् भन्ने लागेको छ । यो फिल्मलाई आउँदो बर्षको भदौ १३ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

Comments