अमेरिका पहिले काठमाडौंमा ‘एलिटा : ब्याटल एन्जल’ पेड प्रिमियर
जेम्स क्यामरुनका नेपाली फ्यानलाई खुशिको खबर ! ‘टाइटानिक’ र ‘अवतार’पछि क्यामरुन पर्खाइमा बसेका प्रशंसकको धैर्य पुरा हुँदैछ । अमेरिकाभन्दा साता पहिल्यै दर्शकले क्यामरुन निर्मित साइवरपंक एक्सन फिल्म ‘एलिटा : ब्याटल एन्जल’ हेर्न पाउनेछन् ।
आगामी फेव्रुअरी १४ (भ्यालेन्टाइन डे)मा फिल्म रिलिज हुँदैछ । दर्शकको अधैर्यतालाई ध्यानमा राखेर फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट र ट्वेन्टिथ सेन्चुरी फक्सले फेव्रुअरी १० मा ‘पेड प्रिभ्यू’ सोज आयोजन गरेका छन् ।
यो एक एक्सक्लुसिभ प्रिमियर हुनेछ जसमा दर्शकले ५ सय रुपैया खर्चेर फिल्म हेर्न पाउनेछन् । ‘पेड स्निक प्रिभ्यू’ नाम दिइएको सोज टिकट क्यूएफएक्सको लबिम र छायाँ हलमा उपलब्ध छ । एप्पल इन्टरटेनमेन्टका रुबेन श्रेष्ठका अनुसार सामाजिक संजालमा लोकप्रिय सेलेव्रिटी, उद्यमी, मिडियकर्मी र फ्यानलाई फिल्म देखाइनेछ ।
क्यामरुन र जोन लेन्डु निर्मित फिल्मलाई सिन सिटी निर्देशक रोबर्ट रोड्रिग्युजले निर्देशन गरेका हुन् । जापानी मंगा कलाकार युकितो किसिरोले सन् १९९० मा सिर्जना गरेको गम नामक साइवरपंक सिरिजमा फिल्म आधारित छ ।
स्मरण शक्ति गुमाएकी र फोहोरको थुप्रोमा भेटिएकी एक साइवर्ग किशोरीलाई कसरी एक साइवरनेटिक चिकित्सकले जीवनदान दिन्छन् र स्मरण शक्ति फिर्ता पाएपछि उक्त किशोरीले गर्ने खतरनाक जीवनयात्रा फिल्मको कथावस्तु हो । जेम्स क्यामरुन स्वयमले पटकथा लेखेका हुन् ।
रोजा साल्जार, क्रिस्टोफर वाल्ट्ज, जेनिफर कोन्ली, मार्सल्ला अली लगायत मुख्य भूमिकामा छन् ।
सञ्चारकर्मी विष्णु शर्माको सहयोगमा