स्टारडमको लडाइँः पर्दामा अनमोल भर्सेज साम्राज्ञी
फिल्म ‘ड्रिम्स’बाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । पहिलो फिल्ममा उनको युवा स्टार अनमोल केसीसँग काम गरिन् । सुरुवातमै सफलता मिल्यो । त्यसपछि अनमोल र साम्राज्ञी फरक फरक टिमसँग काम गरिरहेका छन् ।
‘ड्रिम्स’बाट फ्लोरमा पछिल्लो रिलिज ‘इन्टु मिन्टु लण्डनमा’सम्म आइपुग्दा साम्राज्ञीले पनि पछि फर्केर हेर्नुपरेको छैन । फिल्मकर्मी तथा शुभचिन्तकहरुबाट स्टारडम बोकेकी नम्बर वान अभिनेत्रीको ट्याग पनि पाएकी छिन् । अब भने एक समय सँगै स्कृन सेयर गरेको यो जोडी एकअर्काबीच बक्सअफिसमा भिड्ने पक्का भएको छ ।
बुधबार मात्रै निर्माण घोषणा गरेर फ्लोरमा जान नसकेको अनमोल लिड रोलमा रहने फिल्म ‘ब्याचलर बन्टी’को रिलिज मिति तय भयो अर्को बर्षको तीजमा रिलिज हुनेगरी । त्यसको २४ घण्टा नबित्दै साम्राज्ञी लिड रोलमा रहने फिल्म ‘मारुनी’को प्रदर्शन तय भएको छ । निर्माण टिमले अनमोलको फिल्म रिलिजकै मितिमा आफ्नो फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरेको छ । हालै वितरण कम्पनि एफडीसँग ‘मारुनी’ टिमले प्रदर्शन सम्झौता समेत गरेको छ ।
पछुल्लो पुस्ताका दर्शकमाझ साम्राज्ञी र अनमोलको क्रेज राम्रो छ । स्टारडमको मामिलामा भलै अनमोल माथी होलान् तर यी दुईको नाममा हलमा राम्रै टिकट बिक्छन् । अब भने तोकिएकै मितिमा दुबै फिल्म प्रदर्शनमा आउँदा हुने भिडन्त रोचक बन्ने भएको छ । ‘फेमिली ड्रामा’मा माहिर मानिने नवल नेपालको निर्देशनमा ‘मारुनी’ बन्नेछ भने मिलन चाम्सको निर्देशनमा ‘ब्याचलर बन्टी’ तयार हुनेछ ।