जय श्री दामः सोसियल कमेडीमा नयाँ आयाम !
फिल्म ‘जय श्री दाम’ शुक्रबारबाट प्रदर्शनको लागी तयार छ । सोसियल कमेडी जनराको फिल्मको निर्माण टिमले यसअघि नै पहिलो हाफको १५ मिनेट प्रिभ्यू नै रिलिज गरेर प्रचारमा नयाँ प्रयोग गरेको छ । पहिलो १५ मिनेटलाई दर्शकले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।
विप्लव उप्रेतीको निर्देशनमा बनेको फिल्ममा जेबिका कार्की, अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, विष्णु सापकोटा लगायत लिड अभिनयमा छन् । पछिल्लो क्रममा भित्रिदो कमेडी सिनेमामा आफ्नो फिल्मले नयाँ आयाम बोकेको दाबी निर्देशक उप्रेतिको छ । ‘लिड कलाकार पनि सबै पछिल्लो पुस्ताका छन्, हामीले नेपाली फिल्ममा प्रयोग हुँदै आएको कमेडीमा पनि केहि फरकपना जोड्ने कोशिश गरेका छौँ, उप्रेतीले भने ।
आर्थिक स्थिती कमजोर भएका बेरोजगार दुई युवाले आफ्नो भाग्य चम्काउन प्रयोग गर्ने गलत बाटो र सो क्रममा एक ढोगी बाबासँगको भेटपछि उत्पन्न हुने परिस्थितीको वरीपरि फिल्म घुमेको निर्माण टिमले यसअघि नै बताउँदै आएको छ । अमेरिकामा रहेर फिल्म अध्ययनमा स्नातक गरिसकेका निेर्देशक उप्रेतीको ठुलोपर्दाको पहिलो निर्देशकिय फिल्म भएको कारण पनि फिल्मलाई आशाको नजरमा हेरिएको छ ।
‘फिल्म मेकिङमै आफ्नो पढाईलाई निरन्तरता दिँदै गर्दा सोहि सिकाई र बुझाइलाई समेटेर नै निर्देशनमा हात हालेको हुँ, उप्रेती सुनाउँछन्, ‘१ घण्टा ४० मिनेट फिल्म हेरिरहँदा दर्शकलाई निराश नपार्ने र नेपाली फिल्म मेकिङमा नयाँ पुस्ताको उपस्थितीलाई बलियो बनाउन कुनै कसुर बाँकी राखेको छैन ।’
लामो समयदेखि सम्पादनमा आफ्नो उपस्थितीलाई बलियो बनाउँदै आइहेका मित्र डि. गुरुङ यो फिल्मबाट निर्माता बनेका छन् । मित्र सह निर्माता रहँदा अवार्डेड सिनेमाटोग्राफर रविन आचार्य पनि फिल्मको सह- निर्मातामा छन् । आचार्य पछिल्लो पटक ‘डायन क्याण्डल’ फिल्मबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डमा आफ्नो पकड राखेका सिनेमाटोग्राफर हुन् । आचार्य पनि सिनेमाटोग्राफीमा स्नातक गरिसकेका व्याक्ति हुन् । आचार्यले यसअघि एक इटालियन फिल्म पनि छायाँकन गरिसकेका छन् ।
निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’मा संगीत सुशान्त गौतमको छ । नेशनल मिडिया प्रोडक्सन, मङ्की टेम्पल प्रोडक्सन र क्रेजी ह्याण्डस् प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्मको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् ।
त्यसो त यसअघि सार्वजनिक फिल्मको प्रिभ्यूले पाएको प्रतिक्रियाबाट निर्माण टिम उत्साहित छ । फिल्मले उठाएको कन्टेन्ट र प्रस्तुतीमा हामी कन्फिडेन्स छौँ, निर्देशक सुनाउँछन्, ‘इन्डिपेन्डेन्ट रुपमा लो बजेटमा पनि यो प्रकारको फिल्म निर्माण गर्न सकिन्छ भन्ने सन्देश पनि ‘जय श्री दाम’ले दिन्छ ।’