नयाँ बर्षमा नेपालगञ्ज संगीतले झुम्ने, राजेशपायलदेखि सन्दीपसम्मको प्रस्तुती
काठमाडौं । मध्य पुसमा नेपालगञ्ज गुञ्जने भएको छ । पुस १६ गते आधा दर्जन राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित नेपालगञ्ज गुञ्जने भएको हो । कार्यक्रम आयोजक बलामी फिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशभरका विभिन्न ६ ठाउँमा म्युजिक फेस्टिभल गर्ने लक्ष्य सहित पहिलो कार्यक्रम नेपालगञ्जमा गर्न लागेको हो ।
कार्यक्रम नेपालगञ्जको शारदा ईभेन्टस् र नमस्ते रिसोर्टको सहकार्यमा अंग्रेजी नयाँ बर्षको छेको पारेर म्युजिक फेटिभल गर्न लागिएको आयोजक संस्थाको तर्फबाट समीर बलामीले बताए । नेपालगञ्ज र कोहलपुरको बिच गनापुरमा रहेको नमस्ते रिसोर्टमा न्यु ईयर ईभ सहितको म्युजिक फेस्टिभल हुने छ । कार्यक्रममा युवा वर्गको ढुकढुकी मानिने गायक राजेश पायल राई, कमल खत्री को साथै नेपाल आईडल सिजन १ का सुरज थापा र सुजाता पाण्डेले प्रस्तुती दिनेछन् । हाँस्य कलाकार सन्दिप क्षेत्रीले कार्यक्रममा दर्शकहरुलाई हसाँउनेछन् ।
कार्यक्रमलाई सञ्चारकर्मी नरेश भट्टराईले संचालन गर्नेछन् । गायन र हाँस्य प्रस्तुतीसँगै विभिन्न कल्चरल र आईटम नृत्यहरु पनि प्रस्तुत हुने बलामीले बताए । । मध्य पश्चिममा यो अहिले सम्मकै ठुलो म्युजिक फेस्टिभल हुने स्थानिय आयोजक शारदा ईभेन्टसका रोनिश गौतमले बताएका छन् । कार्यक्रमको लागी १५ बर्ष देखी ६० बर्ष सम्मका दर्शकहरुलाई लक्षित गरिएको छ ।
नेपालगञ्ज र कोहलपुरको पर्यटन प्रवद्र्धनका लागि यो कार्यक्रमले प्रत्यक्ष भुमिका खेल्ने आयोजकले विश्वास लिएको छ । कार्यक्रममा उपस्थित हुने सबै दर्शकहरुले नेपाली ढाका टोपि लगाएर आउनुपर्ने नियम आयोजकले बनाएको छ । जनवरी १ लाई नेपाली ढाका टोपि दिवसको रुपमा मनाउन कार्यक्रमले प्रत्यक्ष भुमिका खेल्ने मनसायले उपस्थित दर्शकहरुले नेपाली ढाका टोपि लगाएर आउने वातावरण बनाउने आयोजकले दावी गरेको छ ।
कार्यक्रममा सहभागिताको लागी दर्शकको लागि ५ सय र १ हजारको टिकट व्यवस्था गरिएको छ भने भिआईपी दर्शकको लागि २ हजार कायम गरिएको छ । दर्शकले कार्यक्रमको टिकट समाजिक सञ्जाल, बैंकमा रकम दखिला भौंचर मार्फत काट्न सक्नेछन् ।