‘प्रसाद’ करोड क्लबमा, यस्तो छ दुई दिने कलेक्सन (बक्सअफिस)
फिल्म ‘प्रसाद’ले घरेलु बक्सअफिसमा उत्कृष्ट ओपनिङ गरेको छ । सुरुवाती दुई दिनमा फिल्मले कमालको बिजनेस गरेको वितरक तथा निर्माताबाट प्राप्त विजनेस रिपोर्ट बोल्छ ।
वितरक गोविन्द शाहीलाई उधृत गर्दै निर्माता सुभाष थापाले दिएको जानकारी अनुसार यो फिल्मले पहिलो दुई दिनमा १ करोड माथीको ग्रस बिजनेस गरेको छ । प्रफुल्लित सुनिएका निर्माता थापाले भने, ‘पहिलो दुई दिनमा फिल्मले १ करोड माथीको ग्रस बिजनेस गर्यो, काठमाडौं र उपत्यका बाहिरका दर्शकले दिनुभएको साथबाट उत्साहित छौँ ।’
निर्माण टिमबाट प्राप्त जानकारी अनुसार फिल्मले पहिलो दुई दिनमा १ करोड १५ लाखको ग्रस बिजनेस गरेको छ । सिङ्गल तथा मल्टिप्लेक्स दुबै स्कृनमा उत्साहजनक सुरुवात गरेको फिल्मले रिलिजको दिन (शुक्रबार) राजधानीमा २६ लाख १४ हजार ३ सय ८१ रुपैयाँ र शनिबार ४२ लाख २८ हजार ९ सय २५ रुपैयाँको ग्रस बिजनेस गरेको प्राप्त विवरणमा उल्लेख छ ।
यस्तै मोफसल तर्फ फिल्मले पहिलो दिन १९ लाख र दोश्रो दिन २७ लाख ग्रस बिजनेस गरेको बताइएको छ । उल्लेखित तथ्याङ्कलाई आधार मान्दा दिनेश राउत निर्देशित ‘प्रसाद’को ग्रस बिजनेस शुक्रबार र शनिबार गरी १ करोड १५ लाख आसपास आउँछ । आइतबारको विजनेस पनि सुखद रहेको निर्माता थापाले फिल्मीनेपाललाई बताए ।
नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत स्टारर फिल्मले समिक्षकबाट राम्रो प्रतिक्रिया पायो भने दर्शकबाट पनि तारिफ भेटेको छ । फिल्मले उठाएको विषयवस्तु, उच्च मिडिया हाइप अनि रिलिजपुर्वको प्रिमियर प्रतिक्रिया फिल्मले ‘इनिसियल’ बिजनेसमा मेरुदण्ड बनेको छ । पत्रकार सुशिल पौडेलले यो फिल्मको स्कृप्ट लेखेका हुन् । डेब्यू लेखनमै पौडेलले तारिफ मात्रै भेटेका छैनन्, फिल्मकर्मी तथा समिक्षकबाट ‘लामो रेसको घोडा’को संज्ञा पनि पाएका छन् ।
र यो पनिः