‘साइँली’ गीतमा झल्केको मौलिकता, दयाहाङ र गौरवको नृत्यमा कति दम ? (भिडियो)
चैत्र १५ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘साइँली’को पहिलो प्रचार सामाग।री रिलिज गरिएको छ । बहु-चर्चित गीत ‘साइँली’को टिमबाट निर्माण बनेको फिल्मले टिपिकल नेपाली कथा उठाएको निर्माण टिमले बताउँदै आएको छ । सार्वजनिक गीतमा पनि मौलिकता झल्केको छ ।
फिल्ममा समावेश ‘नाच माया’ बोलको गीतमा लिड कलाकार दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान र केनिपा सिंहले कम्मर मर्काएका छन् । गीत रिलिजको लागी आयोजित कार्यक्रममा दयाहाङ र गौरवले नजान्दा नजान्दै कम्मर मर्काएको अनुभव सहित ठट्टा पोखे ।
हेमन्त रानाको स्वर रहेको उक्त गीतमा संगीत सुशान्त गौतमले भरेका छन्, हर्क साउदको शब्द समावेश छ भने भिडियोमा कोरियोग्राफी बिक्रम स्वाँरले गरेका छन् । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । हेमन्त राना र गौरवको साझा कम्पनि जिएच इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म तयार भएको हो ।
‘साइँली’मा उल्लेखित कलाकारसँगै माओत्से गुरुङ, प्रकाश घिमिरे, पुस्कर गुरुङ, अरुणा कार्की, इष्टु कार्की, सुष्मा निरौला लगायत लिड अभिनयमा छन् । निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई शैलेन्द्र डि.कार्कीले खिचेका हुन् ।