राष्ट्रपतिमाथी रेखाको कटाक्ष !
राष्ट्रपति विधादेवी भण्डारीलाई सरकारले सवारी आयातको लागी मात्रै १८ करोड रुपैयाँ विनियोजन गरेको कुरा यतिबेला चर्चामा छ । सरकारले राष्ट्रपतिलाई गाडी खरिदकै लागी मोटो रकम छुट्याएको विषय यतिबेला आलोचनाको तारो बनेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले त तिखो ब्यङ्ग्य गरेकै छन्, विशिष्ट मानिने राजनीतिज्ञ, कुटनितिज्ञबाट पनि सरकारको यो कदमको आलोचना भएको छ । यो बीचमा अभिनेत्री रेखा थापाले पनि आफ्नो भनाइ सार्वजनिक गर्दै घुमाउरो ब्यङ्ग्य सहित सरकारलाई प्रश्न पनि गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी रेखाले राष्ट्रपतिको सवारीमा मात्रै गर्न लागिएको १८ करोड लगानीले देशलाई के दिन्छ भनेर प्रश्न गरेकी छिन् । यो पहिले उनले थपेकी छिन्, ‘कुरा १८ करोडको गाडीको होइन । यो धेरै ठुलो रकम पनि नहोला नेपाली जनता लाई । तर अठार जना छोरीले आफु यो देशको राष्ट्र प्रमुख हुने सपना देख्छन त ?’
नेपाली सेना मार्फत राष्ट्रपतिलाई गाडी खरिद गर्न लागेको सरकारले यसअघि ४ करोड छुट्याएकोमा सेनाले नपुग्ने बताएपछि हालै १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको हो । गाडी खरिद शीर्षकमै १८ करोडभन्दा बढी रकम छुट्याइसके पनि कुन प्रकारको कस्तो गाडी ल्याउने भन्ने सेनाले खुलाएको छैन ।