Logo

काठमाडौंमा प्रदिप र जसिताको ‘लभ स्टेशन’

‘लिलीबिली’बाट लोकप्रियता हाँसिल गरेको जोडी प्रदीप खडका र जसिता गुरुङ अभिनित नयाँ फिल्म ‘लभ स्टेशन’को यतीबेला काठमाडौंमा छायाँकन भईरहेको छ । यो फिल्मको दुई ओटा गीत बाहेकको बाँकी छायाँकन तिहार अघि नै काठमाडौंमा सकिँदैछ ।

दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिसत छायाँकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलाम स्थित पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाइमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिसत छायाँकन सकेर फिल्म युनिट २ दिन अघि काठमाडौं फर्केको हो ।

काठमाडौंको बाँकी १० प्रतिसत छायाँकन यतीबेला भईरहेको छ । तीहारसम्ममा काठमाडौंको छायाँकनसम्पन्न गर्ने निर्माता गोविन्द शाहीले बताएका छन् । १२ आसोजबाट दर्जिलिङदेखि फिल्मको छायाँकन सुरु गरिएको थियो ।

‘हामीले लक्ष्मीपुजासम्म करिब ९० प्रतिसत छायाँकन सक्दै छौं, अब तिहार पछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिच्दै छायाँकन सम्पन्न गर्नेछौं ।’ निर्माता शाहीले भने,‘हामीले तोकेको निर्धारित ४५ दिन भित्रै फिल्मको सम्पूर्ण छायाँकन सम्पन्न हुँदैछ । लभ स्टेशनलाई अब यो बर्षको अन्तिमसम्ममा हामी देश व्यापी सिनेमा हलमा रिलिज गर्नेछौं ।’

फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उनका अनुसार फिल्मको थिम सांगीतिक प्रेम कथामा आधारित पारिवारिक कथा हो । जसमा प्रदीप, जसिताले अहिलेसम्मकै राम्रो काम यसमा गरेको पनि निर्देशक घिमिरेको भनाई छ । फिल्म भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

यो फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । आलोक शुक्लाको छायाँकन रहेको ‘लभ स्टेशन’मा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

Comments