पाँच शहरमा नृत्य सहित ‘बुलबुल’ गीत रिलिज, स्वस्तिमाले काठमाडौंमा कम्मर मर्काइन् !
अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो ड्राइभरको भूमिकामा अभिनय गरेको फिल्म ‘बुलबुल’ले फ्ल्यास मोब शैलीमा फिल्मको पहिलो गीत सार्वजनिक गरेको छ । देशका पाँच शहरमा एकसाथ नृत्य सहित फिल्मको गीत रिलिज गरियो ।
‘खुदाखुद्री’ बोलको गीत सार्वजनिक गर्नको लागी काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा दिउँसो ४ बजे कलाकार तथा डान्सरहरु जम्मा भए । उपस्थित क्राउडका अगाडी कम्मर मर्काए ।
काठमाडौं बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौंको काठमाडौ मल अगाडि भने अभिनेत्री स्वस्तिमा खडका र अभिनेता मुकुन भुसालले कम्मर मर्काए । दर्जनौँ क्राउडको अगाडी स्वस्तिमाले कम्मर मर्काउँदा ताली र हुटिङ बजेको थियो । नृत्य पश्चात स्वस्तिमासँग सेल्फी लिनेको भीड काठमाडौँ मल अघि देखिएको थियो ।
गीत युट्युवमा समेत रिलिज भइसकेको छ । भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जना कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख खर्च भएको निर्माण टिमको दाबी छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । उनले भिन्न कन्सेप्टमा खिचिएको गीत आफूले पछिल्लो समय खिचेका गीतमा उल्लेख्य रहेको बताएका थिए ।
गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका छन् । गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालको नृत्य गरेका छन् । फिल्म निर्देशक विनोद पौडेलले ‘बुलबुल’ले स्वस्तिमा खडकाको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने स्वस्तिमा स्वयंले पनि यो फिल्म आफनो करियरकै कोशेढुंगा हुने अभिव्यक्ति दिँदै अएकी छिन् ।
फिल्म ‘बुलबुल’मा स्वस्तिमा खडका र मुकुन भुसालका अलावा बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । फिल्म फागुन ३ मा रिलिज हुँदैछ ।