Logo

हरेक फिल्म फरक हिरो, माग कथाको कि पूजाको ?

अभिनेत्री पूजा शर्मा पछिल्लो क्रमकी चल्तीकी अभिनेत्री हुन् । पूजा सोसियल मिडियामा सर्वाधिक चर्चामा रहने नाम हो भन्दा अत्युक्ति नहोला । पछिल्ला रिलिज फिल्ममा एकपछि अर्को सफलता पाउनुले पनि पूजाको उचाई थप माथी पुर्याएको छ ।

यहाँ प्रसङ्ग जोडौँ पूजाले अभिनय गर्ने या गर्दै आएका फिल्म अनि उनको अपोजिटमा रहने अभिनेताहरुको । डेब्यू फिल्म ‘थ्री लभर्स’ देखि पछिल्लो रिलिज ‘रामकहानी’ सम्म आइपुग्दा सबै ‘छ’ फिल्ममा उनले फरक फरक अभिनेतासँग स्कृन सेयर गरेकी छिन् ।

‘थ्री लभर्स’मा सह- अभिनेत्रीको रुपमा देखिएकी पूजाको अपोजिटमा त्यस्तो ठुला कुनै अभिनेता रहेनन् । तथापी ती अभिनेता अर्को पटक उनिसँग देखिएनन् । दोश्रो फिल्म ‘मधुमास’मा पूजाले आर्यन सिग्देलसँग काम गरिन् उनिसँग पनि पुनः जोडी दोहोरिएन ।

रामकहानीमा आकाश श्रेष्ठसँग पूजा

त्यसपश्चात ‘अझै पनि’मा सुदर्शन थापासँग काम गरिन् । सुदर्शन त्यसपछिको फिल्म ‘चङ्खे शङखे पङ्खे’ मा त रहे तर त्यो फिल्ममा लिड अभिनेता थिए, सुदर्शनसँगै प्रेम पुरी र सुवास थापा । सबैसँग उत्तिकै जस्तो पूजाको कपल देखियो ।

‘प्रेमगीत’मा प्रदिप खड्कासँग पूजा देखिइन् त्यसपछि ‘म यस्तो गीत गाउँछु’ आयो जसमा पल शाह उनको अपोजिटमा रहे यो पछि पछिल्लो रिलिज ‘रामकहानी’मा पनि उनले नयाँ अभिनेता आकाश श्रेष्ठसँग जोडी बाँधिन् । अब नयाँ चर्चा छ सुदर्शन थापाकै निर्देशनमा बन्ने फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा पूजाले नव अभिनेता सोनम तोप्देनसँग जोडी बाँध्दैछिन् ।

आकाश श्रेष्ठ र पूजासँगको रमाईलो अन्तर्वार्ता हेर्नुहोसः

सरसर्ती हेर्दा हरेक फिल्ममा पूजाले नयाँ तथा फरक अभिनेतासँग स्कृनसेयर गरेकी छिन् । जुन कुराले नयाँ अभिनेताको माग पूजाले गर्छिन् या सम्बन्धित फिल्मको कथा या निर्देशकले गर्छन् भन्ने प्रश्न तेर्साउँछ । त्यसो त पूजाले आफू कहिल्यै यो कलाकार चाहिन्छ भनेर नभन्ने गरेको दाबी गर्छिन् । अब भन्नुस् पूजाको यो दाबी साँच्ची सहि हो कि उनकै मागले नयाँ अभिनेता आउँछन् या त कथाको डिमाण्ड हुन्छ ? उत्तर खोज्न लायक प्रसङ्ग छ ।

Comments