प्रहरी ज्यादती बिरुद्ध ‘चङ्गा चेट’, तीन संवादमा सेन्सरको नजर
फिल्म ‘चङ्गा चेट’ कार्तिक १६ बाट प्रदर्शनको लागी तयार छ । डार्क कमेडी जनराको बताइएको फिल्मको गीतले लोकप्रियता बढाउँदै गर्दा सामाजिक सञ्जालमा पनि फिल्मको चर्चा बढ्दो छ ।
यो बीचमा हालै फिल्मको सेन्सर सकिएको छ । फिल्म जाँचपास निकायले १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको रोहबरमा हेर्नुपर्ने भन्दै ‘पिजी’ सर्टिफिकेट दिएको छ । यो विषयमा निर्माता माधव वाग्लेले फिल्मका संवाद र दृश्य काँटछाँट पनि गर्ने र ‘ग्रेडिङ’ पनि गर्ने भन्दै सामाजिक सञ्जालमा ब्यङ्ग्य समेत गरेका छन् ।
फिल्मीनेपालसँगको कुराकानीमा भने वाग्लेले सामाजिक रुपमा अश्लिल लाग्ने संवादलाई ‘म्यूट’ गरिएको मात्रै दाबी गरे । उनको कुरालाई आधार मान्दा २ घण्टा २१ मिनेट लामो फिल्ममा समावेश तीन संवाद मात्रै म्यूट छन् ।
कन्टेन्टको बारेमा कुरा गर्दै वाग्लेले फिल्मले नेपालमा विद्धमान प्रहरी प्रशासनको ज्यादतीको बिरुद्धको कथा ‘चङ्गा चेट’मा समेटिएको खुलाए । तीन युवाको सामाजिक जीवन कहानी र त्यसमा प्रहरीको ज्यादतीले पार्ने असर नै फिल्मको थिम रहेको उनको भनाइ छ ।
आफ्नै जीवन कहानीसँग समेत फिल्मको कथा मेल खान गएको भन्दै वाग्लेले कानुनको हवालामा बीना कसुर नागरिकलाई दिइने पीडालाई फिल्मले जोडेको खुलाए । निर्देशकले ‘डार्क कमेडी’ भनेको फिल्मलाई वाग्ले भने कमेडी ड्रामा बोले ।
वाग्लेसँगै शर्मिला पाण्डेको निर्माणमा तयार भएको फिल्मलाई दिपे्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राना, सन्दीप क्षेत्री, रविन्द्र झा र सुरक्षा पन्त लिड अभिनयमा छन् ।