Logo

‘इन्टु मिन्टु लण्डनमा’ बम्पर ओपनिङ, यो बर्षकै सर्वाधिक ठुलो कलेक्सन (बक्सअफिस)

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले बम्पर ओपनिङ गरेको छ । फिल्मको पहिलो दिनको बिजनेसलाई बर्ष २०७५ कै सर्वाधिक ठुलो भनिएको छ ।

फिल्मले काठमाडौंमा ओपनिङ डे मल्टिप्लेक्स तर्फ आक्रामक दर्शक भेट्यो । मल्टिप्लेक्सतर्फ क्यूएफएक्स, बिग सिनेमा, एफक्युव सबै तिर फिल्मले दर्शकको साथ राम्रो पायो । मल्टिप्लेक्समा फिल्मले दिनभर ८० प्रतिशत माथीको अकुपेन्सी कायम गरेको छ ।
 
सिंगल स्कृनमा पनि फिल्म हेर्ने दर्शक राम्रो देखिए । राजधानीका ‘सिंगल टर्न मल्टिप्लेक्स’ गोपिकृष्ण, अष्टनारायण लगायतका हलसहित प्रदर्शनरत सिंगल स्कृनमा फिल्मप्रति दर्शकको क्रेज उच्च हुँदा बिजनेसमा पनि सोहि प्रकारको अनुमान गरिएको छ । फिल्मले समग्रमा राजधानीमा ७० प्रतिशत बराबरको अकुपेन्सी कायम गरेको छ ।
 
राजधानी तर्फ फिल्मले शुक्रबार ४० देखि ४५ लाख माथीको ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ । यो कलेक्सन आफैमा बर्षकै उच्च हो । यसअघि रिलिज ‘नाई नभन्नु ल ५’ र ‘कायरा’ले राजधानीका मल्टिप्लेक्समा यो बर्ष राम्रो ब्यापार गरेका थिए ।
 
उता मोफसलतर्फ पनि फिल्मले बम्पर सुरुवात गरेको छ । फिल्मले मोफसलमा समग्रमा ५५ देखि ६० प्रतिशत अकुपेन्सी कायम गर्दा पहिलो दिन २५ लाख आसपासको ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ । वितरक मनोज राठीले ७० प्रतिशत अकुपेन्सी दाबी गरे ।
 
उल्लेखित तथ्यलाई आधार मान्दा फिल्मले पहिलो दिन देशब्यापी रुपमा ७० लाख आसपासको ग्रस बिजनेस गरेको छ । फिल्मको आधिकारिक बक्स अफिस रिपोर्ट प्राप्त छैन । सबै नेपाली हलहरुमा दिनभर दर्शक हाउसफुल हुँदाको कलेक्सन १ करोड भन्दा केहि माथी मात्रै हुन्छ । 
 
फिल्म हेर्ने मुख्यतः गीत संगीत लाई तारिफ गरेका छन् । धिरज मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह र सारुक ताम्राकार दर्शकबाट बधाइका पात्र बनेका छन् । समिक्षकले फिल्मलाई मध्यम बोल्दा वर्ड अफ माउथ भने दर्शकबाट पनि उच्च पाइएको छैन ।
 
कोरियोग्राफीमा अब्बल कहलिएकी रेनाशा वान्तवा राईको डेब्यू निर्देशनमा बनेको फिल्मलाई आइकोर फिल्मस् ले निर्माण गरेको हो । फिल्मको कुल बजेट ३ करोड माथी भनिएको छ । नेपाली हलबाट लगानी उठाउन फिल्मले ८ करोड बढिको बिजनेस गर्नु आवश्यक हुनेछ ।
यो पनिः

सात तश्विरमा ‘इन्टु मिन्टु लण्डनमा’ प्रिमियर (फोटो फिचर)

‘इन्टु मिन्टु लन्डनमा’लाई प्रिमियरमा तारिफ, यस्तो छ सेलिब्रेटी प्रतिक्रिया

Comments