ओस्कार अवार्डमा नीताको ‘पञ्चायत’
विश्व फिल्मको सर्वोच्च अवार्ड ओस्कार अवार्डको लागी नेपालबाट नीता ढुङ्गाना स्टारर फिल्म ‘पञ्चायत’ प्रतिस्पर्धामा जाने पक्का भएको छ । ओस्कारको लागी नेपालको विदेशी भाषी फिल्म छनोट समितिले शिवम अधिकारी निर्देशित फिल्म ‘पञ्चायत’लाई छनोट गरेको हो ।
फिल्म एकेडेमी अफ मोशन पिक्चर आटर्स एण्ड साइन्सेस द्वारा सन् २०१९ को लागी घोषणा गरिने ९१औं एकेडेमी अवार्ड (द ओस्कर अवार्ड)मा विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधामा प्रतिस्पर्धी बन्नका लागी आह्वान गरिएकामा परेका तीन फिल्म मध्ये ‘तान्द्रो’ र ‘माइ लभ प्रोमिश फर काठमाडौं’लाई पछि पार्दै ‘पञ्चायत’ छनोट भएको हो ।
उपरोक्त तीन फिल्महरू एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेकामा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति यस विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल) द्वारा चलचित्र “पञ्चायत”लाई छनौट गरिएको हो, विमल पौडेल संयोजक रहेको समितिले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
नीतासँगै सरोज खनाल लिड रोलमा रहेको फिल्मले नेपाल रिलिजमा व्यवसायिक रुपमा आशातित सफलता प्राप्त नगरेपनि समिक्षकको नजरमा सुखद प्रतिक्रिया पाएको थियो । यो फिल्मको अभिनयबाट नीताले अहिलेसम्म तीन वटा अवार्ड जितिसकेकी छिन् ।