Logo

बसुन्धरा र भुवनलाई सम्मान, तिमिल्सिना र पौडेललाई पत्रकारिता पुरस्कार घोषणा

आगामी आईतबार जापानको टोकियोमा सम्पन्न हुन गईरहेको ‘सुर्य ईन्टरनेशनल अवार्ड–२०१८’ मा नेपाली फिल्म क्षेत्रमा निरन्तर लाग्दै आईरहेका २ जना कलाकार र २ पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्ने घोषणा आयोजकले गरेको छ । ३ दशक भन्दा पनि बढि समयदेखि फिल्म क्षेत्रमा निरन्तर क्रियाशिल रहनुभएकी वरिष्ठ चलचित्रकर्मी तथा नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई सुर्य ‘लाइफटाइम एचिभमेन्ट अवार्ड–२०१८’ बाट गरिने भएको छ ।

यस्तै करिब तीन दशक देखी लगातार फिल्म क्षेत्रमा क्रियाशिल सदावहार नायकको उपमा पाएका भुवन केसीलाई ‘सुर्य कलाकारिता सम्मान–२०१८ बाट’ प्रदान गर्न लागिएको आयोजक संस्था सुर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् । नेपाली कला क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानको कदर स्वरुप सम्मान प्रदान गर्न लागेको आयोजकले बताएको छ ।

यस्तै दशक लामो चलचित्र पत्रकारिताको क्रममा नेपाली फिल्म क्षेत्रको स्तरवृद्धि तथा उन्नतिको लागी पुर्याएको योगदानको कदर गर्दै पत्रकार समिप्यराज तिमल्सिनालाई ‘सुर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८’ र फोटो पत्रकारवश्रीधर पौडेललाई ‘सुर्य फोटो पत्रकारिता पुरस्कार–२०१८’ पुरस्कार प्रदान गर्ने घोषणा पनि आयोजकले गरेको छ ।

सम्मान र पुरस्कार वितरण कार्यक्रम अवार्ड समारोहसँगै जापानको टोकियोमा अवस्थित नाकानो जेरो हलमा हुनेछ । कलाकारहरुको कामको मुल्याङ्कन तथा उर्जालाई साथ र सहयोग पुग्ने गरि अवार्ड समारोह आयोजना गरेको आयोजकले कलाकार र पत्रकारलाई पनि हौसला प्रदानको लागि सम्मान र पुरस्कार कार्यक्रम जोडिएको लामिछानेले बताए ।

समारोहमा फिल्मको ६ विधा र गायनका ६ विधा गरि १२ विधामा अवार्ड वितरण गरिनेछ । पर्यटन प्रवर्धन, कला संस्कृतिको संरक्षण र जापानमा निरन्तर नेपाली फिल्म प्रदर्शनलाई प्रभावकारी बनाउन सुर्य ईन्टरनेशनल अवार्ड आयोजना गर्न लागिएको लामिछानेले बताएका हुन् । अवार्ड समारोहमा साँस्कृतिक प्रस्तुतीहरु सहितको भव्य कार्यक्रम पनि हुनेछ । जसको लागि नेपालबाट शुक्रवार ४० बढि कलाकारहरु जापान जाँदैछन् ।

Comments