Logo

तीजमा बम्पर ‘रामकहानी’, अधिकांश शो हाउसफूल

महिलाहरुको महान पर्व मानिने हरितालिका तीजको दिन नेपाली फिल्मको लागी सुखद बनेको छ । तीज लक्षित गरेर गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रामकहानी’लाई तीजको बिदा उत्सव बन्यो । फिल्मले बुधबार दिनभरजसो प्रदर्शनरत प्रायः हलमा हाउसफूल दर्शक पायो ।

राजधानी सहित मोफसलका अधिकांश पर्दाहरु दिनभरजसो हाउसफुल भएको वितरक सुनिल मानन्धरले बताएका छन् । फिल्म हेर्न देशभरका सिंगल तथा मल्टिप्लेक्समा दर्शकको साथ आक्रामक पाइयो । काठमाडौं सहित मोफसलका मुख्य स्टेशन चितवन, पोखरा, हेटौँडा तथा पुर्बी नेपालका धरान, विर्तामोड लगायतका हलहरुमा दर्शकको उल्लेख्य भिड ‘रामकहानी’मा देखिएको सम्बन्धित जिल्लाका हल सञ्चालक तथा सञ्चारकर्मीबाट प्राप्त रिपोर्ट बोल्छ ।

राजधानीको कुमारी हल तथा बिगमुभिजमा फिल्मीनेपाल टिम पुग्दा फिल्मको शो हाउसफुल भेटिएको थियो भने दिवा शो मा टिकट नपाएका दर्शकले रात्री शो को टिकट समेत लिएर फिल्मप्रति प्रतिक्षा बढाइरहेका थिए । मुख्यत तीजको दिन ‘रामकहानी’ प्रति महिला दर्शकको क्रेज बढि देखिएको छ ।

निर्देशक सुदर्शन थापाले फिल्मले दिनभरजसो हलमा ९० प्रतिशत बराबर अकुपेन्सी कायम राखेको बताए । दर्शक तथा समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्ममा समावेश हाँस्य पाटोलाई दर्शकले बढि मन पराएका छन् भने पूजा शर्मा र आकाश श्रेष्ठको लभस्टोरीलाई पनि ‘नोटिस’ गरेका छन् ।

हालसम्म फिल्मको आधिकारिक ब्यापारिक रिपोर्ट निर्माण टिमले बाहिर ल्याएको छैन । ‘रामकहानी’को बुधबारको ब्यापार गत शनिबारको भन्दा पनि राम्रो भएको चर्चा सिनेबृत्तमा छ । यो फिल्ममा पूजा र आकाशसँगै जितु नेपाल, केदार घिमिरे, विल्सनबिक्रम राई, रविन्द्र झा लगायत लिड अभिनयमा छन् ।

नेपाल प्रदर्शनको क्रम पहिलो हप्तामा रहँदा यो फिल्मको वैदेशिक प्रदर्शन अधिकार खरिदको क्रम सुरु भएको छ । प्राप्त जानकारी अनुसार अष्ट्रेलिया, यूरोपका विभिन्न देश, जापानसँगै तेश्रो मुलुक मानिने दुबई, कतार, मलेशिया, बहराईन लगायतका देशका फिल्मको प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

उता स्थानिय दर्शकसँग प्रतिक्रिया लिन तथा सँगै बसेर फिल्म हेर्नको लागी पूजा र आकाश सहितको टिम चितवन पुगेको छ । चितवनका जलमा, इन्द्रदेव लगायतका हलमा पुगेर बुधबार आकाश र पूजाले दर्शकसँग साक्षात गरे, सँगै बसेर फिल्म हेरे । चितवनबासी दर्शकबाट फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको उनिहरुले बताए ।

Comments