‘लभ स्टेशन’को लागी काठमाडौं आइन जसिता, प्रदिपसँग प्रकाशको टकराब !
फिल्म ‘लभ स्टेशन’को लागी लिड अभिनेत्रीमा जसिता गुरुङ फाइनल भएकी छिन् । चर्चा तथा गसिपलाई पन्छ्याउँदै गुमनाम बसेको निर्माण टिमले अन्ततः जसितालाई सार्वजनिक गर्दै लिडिङ लेडी रहने जानकारी गरायो । ‘लिलिबिली’ डेब्यू गर्ल जसिताले दोश्रो पटक प्रदिप खड्कासँग जोडि बाँध्ने पक्का भएको हो ।
सोमबार राजधानीमा एक अनौपचारिक प्रेस भेटघाट आयोजना गर्दै निर्माण टिमले अन्य लिड कलाकार पनि सार्वजनिक गरेको छ । लण्डन बस्दै आएकी जसिता यो फिल्मकै लागी काठमाडौं आइपुगेकी छिन् ।
फिल्मंमा प्रदिप र जसितासँगै ‘म्यान हण्ट नेपाल २०१७’ का फर्स्ट रनरअप तथा मिस्टर ग्लोबल २०१८ प्रकाश शाह लिड अभिनयमा रहनेछन् । प्रकाशको भुमिका नेगेटिभ या पोजिटिभ खुलाईएको छैन । श्रोतका अनुसार जसिताको लागी प्रकाश र प्रदिपको टकराब फिल्ममा हुनेछ ।
सँगसँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल पनि यो फिल्ममा मुख्य अभिनयमा रहनेछन् । गोविन्द शाहीले निर्माण गर्ने फिल्मलाई पाका निर्देशक उज्जल घिमिरेले एक्सन कट गर्नेछन् । आगामी असोज ५ गतेबाट फिल्म फ्लोरमा जाने बताइएको छ ।
सिक्किम र दार्जिलिङमा मुख्य छायाँकन हुने फिल्मको सुटिङको लागी असोज लाग्दै गर्दा कलाकार सहितको निर्माण टिम त्यसतर्फ प्रस्थान गर्नेछ । ठाउँको नामको आधारमा फिल्म नाम ‘लभ स्टेशन’ जुराएको निर्देशक उज्ज्वल घिमिरेले बताए । अभिनेता प्रदिपले फिल्मलाई पारिवारिक प्रेमकथा भन्दै बिगतका फिल्म भन्दा केही पृथक ‘लभ स्टेशन’ बन्ने आशा राखे ।
४५ दिन छायाँकन अवधी तय गरिएको फिल्मलाई आगामी फागुनको अन्तिम साता प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्ष राखेको छ । आलोक शुक्लाको छायाँकन रहने ‘लभ स्टेशन’मा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।