Logo

‘रामकहानी’ प्रदर्शन विवादबारे बोल्यो गोपिकृष्ण, ३ पर्दा दिन तयार

शुक्रबार रिलिज फिल्म ‘रामकहानी’ गोपिकृष्ण मुभिज चाबहिलमा प्रदर्शन नहुने भन्ने समाचारले बिहिबार साँझ धेरै मिडियामा स्थान पायो । ‘रामकहानी’ निर्माण टिमको भनाइ जोडेर आएका अनेकन समाचारप्रति अन्ततः गोपिकृष्णले मुख खोलेको छ ।

file photo

मध्यरातको साढे १ बजे प्राप्त प्रेस विज्ञप्तीमा गोपिकृष्ण मुभिजका कार्यकारी निर्देशक निरक पौडेलले गलत प्रचार भन्दै ध्यानाकर्षण जनाएका छन् । आफ्नै ब्यानरको फिल्म ‘रोज’ प्रदर्शनमा आउँदा आउँदै पनि ‘रामकहानी’लाई प्रयाप्त सिट क्षमता सहितका पर्दा उपलब्ध गराइएको भन्दै फिल्म नचलाउने निर्णयलाई पौडेलले आश्चर्यजनक भनेका छन् ।

प्राप्त विज्ञप्तीमा भनिएको छ, ‘यही भाद्र २२ गते प्रर्दशन हुने नेपाली चलचित्र रामकहानी लाई गोपीकृष्ण मुभिजले प्रर्दशन गर्न नदिईएको वा चलचित्र रामकहानीका निर्माता पक्षले उक्त चलचित्रका लागि गोपीकृष्ण मुभिजले १०० सिटको हल उपलब्ध गराएको भनि गलत प्रचार गरिएको प्रति गम्भिर ध्यानाकृष्ण भएको छ, गोपीकृष्ण मुभिजमा १०० सिटको कुनै पनि हल छैन । गोपी कृष्ण मुभिजले रामकहानीका लागि ओम, नमः र शिवाय गरि ३ ओटा हल उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।’

‘रामकहानी’ निर्माताहरुले भने जस्तो सय सिट नभइ ३ पर्दामामा गरि ६ सय ६३ सिट क्षमता उपलब्ध गराइएको भन्दै दर्शकहरुको चाप बढेको खण्डमा गोपी र कृष्ण हल समेत थपिदिने प्रतिवद्धता पनि जनाईसकिएको छ, निरक द्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘रामकहानी चलचित्र लाई गोपीकृष्ण मुभिजमा प्रर्दशन नगर्ने सोच भएको भए रामकहानीको ब्यानर गोपीकृष्ण मुभिजमा लाग्ने नै थिएन ।’

‘नेपाली निर्माताहरुलाई सवै भन्दा बढी शेयर दिने र नेपाल सरकारलाई नेपाली चलचित्रबाट सबैभन्दा बढी राजश्व बुझाउने गौरव बोकेको संस्थाको गरिमामा आँच आउने गरि कुनै पनि टिका टिप्पणी नगरिदिन हुन सम्बन्धीत सवैमा विनम्र अनुरोध गर्दछौ’, विज्ञप्तीमा उल्लेख छ । सँसँगै ‘रामकहानी’ टिमलाई थप सहयोगको आवश्यक परे गोपीकृष्ण मुभिज सधैँ तयार रहेको समेत जोडिएको छ।

आफुहरुलाई सानो पर्दा मात्र उपलब्ध गराएको भन्दै बिहिबार साँझ ‘रामकहानी’ फिल्म टिमले गोपिकृष्ण हलमा आफ्नो फिल्म नचलाउने निर्णय गरेको थियो । वितरक सुनिल मानन्धरको अगुवाईमा उक्त हलमा टाँसिएका पोस्टर र ब्यानर समेत निकालिएको छ ।

नोटः गोपिकृष्ण मुभिजका कार्यकारी निर्देशक पौडेल ‘रामकहानी’सँगै रिलिज हुन लागेको फिल्म ‘रोज’का निर्देशक हुन् ।

र यो पनिः

पर्दा बाँडफाँडमा लफडा, गोपिकृष्णमा ‘रामकहानी’ नचलाउने घोषणा

Comments