Logo

पर्दा बाँडफाँडमा लफडा, गोपिकृष्णमा ‘रामकहानी’ नचलाउने घोषणा

राजधानीका दर्शकको लागी मुख्य केन्द्र मानिने चाबहिल स्थित गोपिकृष्ण हलमा फिल्म ‘रामकहानी’ रिलिज नहुने भएको छ । पर्दा बाँडफाँडको बिषयमा कुरा नमिलेपछि फिल्म निर्माण टिमले गोपिकृष्णका कुनै पनि पर्दामा आफ्नो फिल्म नलगाउने घोषणा गरेको हो ।

निर्माता तथा निर्देशक सुदर्शन थापाले समाचारको पुष्टि गरेका छन् । ‘ सुरुमा ठुला पर्दा मानिने गोपि र कृष्ण मध्ये एक पर्दा हामीलाई दिने फाइनल भएको थियो, भोली फिल्म रिलिज छ, अहिले साँझ आएर हल सञ्चालकले दुबै पर्दा दिन नसक्ने र कम सिट क्षमताको नमः हल दिने भन्नुभयो त्यसैले फिल्म नलगाउने निर्णय गर्यौँ,’ थापाले भने ।

गोपिकृष्ण मुभिजकै होम प्रोडक्सनको फिल्म ‘रोज’सँग बिजनेस युद्ध गर्दै गरेको ‘रामकहानी’सँग डराएर हल सञ्चालकले आफ्नो फिल्मलाई ‘वायस’ गर्न खोजेको आरोप थापाले लगाए । ‘रिलिजको मुखमा आएर हामीलाई हल सञ्चालकबाट धोका भयो, उनले थपे, ‘गोपिकृष्ण मै नलागे पनि राजधानीका अन्य दर्जनौँ पर्दामा हाम्रो फिल्म लाग्छ दर्शकलाई अन्य हलसम्म पुगेर फिल्म हेरिदिन अनुरोध गर्छु ।’

file photo

त्यसो त गोपिकृष्णले आफ्नो फाइदामा निर्मातालाई पेल्ने गरेको यो नौलो घटना होइन । यसअघि पनि निश्चल बस्नेतले उक्त हलबाट फिल्म उतारेका थिए भने रोहित अधिकारीले अनमोल केसी स्टारर फिल्म ‘गाजलु’लाई पनि हलले पर्दा विभाजनमा मनोमानी गरेपछि चल्दा चल्दै अर्को शोबाट उतारेका थिए ।

फिल्म हेर्न दर्शक कम हुँदा र अन्य प्रतिस्पर्धी फिल्ममा बढि दर्शक पाउँदा मात्रै ठुलो पर्दाबाट सानो पर्दामा फिल्म हलले ‘सिफ्ट’ गर्दैआएको छ । तर आफ्नो फिल्म रिलिज भएकै कारण गोपिकृष्णले ‘रामकहानी’का दर्शकलाई अन्याय गरेको वितरण टिमका एक सदस्यले भने । फिल्म नलाग्दै सानो पर्दा दिनेहलवालाको निर्णय र उक्त हलबाटै फिल्म उतार्ने निर्माण टिमको निर्णयले ब्यापारिक घाटादुबै पक्षलाई हुनेछ ।

यसैबीच गोपिकृष्ण हलबाट ‘रामकहानी’को ब्यानर पनि उतारिएको छ । वितरक सुनिल मानन्धर सहितको टोली पुगेर आफ्नो फिल्मको पोस्टर हलमा नसजाउन अनुरोध पनि हलबाट फिल्मको पोस्टर निकालिएको छ । बिहिबार साँझसम्म गोपिकृष्णमा ‘अपकमिङ रिलिज’मा रामकहानी ब्यानर राखिएको थियो ।

सुदर्शनसँगै अभिनेत्री पूजा शर्मा निर्माता रहेको ‘रामकहानी’मा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन बिक्रम राई लगायत लिड अभिनयमा छन् । फिल्म साँगितिक रुपमा सशक्त बनिसकेको छ ।

Comments