यस्तो बन्यो नेपालमा खिचिएको हलिउड फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ ट्रेलर
पाँच करोड लगानीमा निर्माण भएको फिल्म ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नेपालमा बनेको उक्त पहिलो अंग्रेजी सिनेमाको सुट हलिउड नगरी लस–एन्जल्ससहित काठमाडौंमा गरिएको थियो ।
आइतबार अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा ट्रेलर–पोस्टर लन्च गरियो । थिम पोतिएको पोस्टरमा फिल्मका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । पृष्ठभूमिमा नेपाली ऐतिहासिक सम्पदा देख्न सकिन्छ । ट्रेलर आकर्षक लाग्छ ।
निर्माताले हलिउड, बलिउड र नेपालमा एकैसाथ फिल्म रिलिज गर्ने तयारीमा आफूहरु जुटेको बताए । क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिन अहिले अमेरिकामा छन् । केही स्टुडियोसँग रिलिजबारे छलफल भैरहेको जानकारी उनले दिए ।
नेपाली कथा अन्तराष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको उनको कथन छ । भारतीय, पाकिस्तानी र केही हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी फिल्मको वितरणमा चासो व्यक्त गरेको उनले जनाए ।
पेमा धोन्डुप निर्देशक हुन् । फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’ फिल्ममा नेपाली भारतिय तथा हलिउड कलाकारहरुको अभिनयको मिश्रण छ । निर शाह, आना शर्मा, परमिता आर एल राना लगायत अभिनयमा रहेको फिल्मको ट्रेलरमा आना बोल्ड अबतारमा प्रस्तुत छिन् ।