पर्दामा महिनैपिच्छे फिल्म, निर्माताको चेपुवामा अनमोलको स्टारडम
नेपालमा यतिबेला सर्वाधिक स्टारडम बिक्ने कोहि स्टार छ भने अग्र पङ्गतीमा आउने पहिलो नाम अनमोल केसी हो । रिलिज अन्तर तथा जहिँकहिँ झ्याप्प नभेटिने यी चकलेटी हिरोले आफ्नो स्टारडमलाई समय अन्तरमा मजबुद बनाउँदै लगिरहेका छन् ।
लगातार हिट फिल्म दिने र इनिसियल बिजनेसमा एक्लो नाममा टिकट काटेका दर्शक हलमा तान्ने अनि महङ्गो पारिश्रमिक लिँदा समेत सर्वाधिक डिमाण्डेड अनमोल नेपाली फिल्मको बिजनेसमा अनमोल रतन नै मानिन्छन् । उनै अनमोलले भन्ने गर्थे कम्तिमा ६ महिनाको अन्तरमा हलमा आउँछु, बर्षमा जम्मा दुई मात्रै फिल्म खेल्छु ।
तर समय बदलिएको छ, बागमतीमा धेरै पानि बगिसकेको छ । यतिबेला अनमोलले पछिल्लो क्रममा लगातार अनुबन्धता जनाएका फिल्महरु सुटिङ सेड्यूअल सार्वजनिक गर्न र रिलिज तोक्न होडबाजी गरिरहेका छन् । अनमोलका दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘ब्याचलर बन्टी’ दुबैले असोजबाट फ्लोरमा जाने घोषणा गरेका छन् । अब अनमोलले एकै महिना कसरी दुई फिल्मको सुटिङ भ्याउँछन् अनि कुन कुन अबतारमा दुई फिल्ममा आफुलाई प्रस्तुत गर्छन् त्यो हेर्न बाँकी छ।
अर्को रोचक कुरा के छ भने अनमोलका यी दुबै फिल्म यो बर्षको अन्तिममा अर्थात लगातार पहिलो र दोश्रो महिनामा रिलिजको लागी अघि सरेका छन् । फ्लोरमै नगएका दुबै फिल्मले रिलिज तोकिसकेका छन् । मिलन चाम्सको निर्देशनमा बन्ने ‘ब्याचलर बन्टी’ले असोज ३० बाट फ्लोरमा गएसँगै आगामी फागुन १७ लाइ प्रदर्शन मिति तोक्दा झरना थापाको निर्देशन रहने ‘ए मेरो हजुर ३’ले बर्षान्त अर्थात चैत्र २९ लाई प्रदर्शन मिति तोकेको छ ।
दुई फिल्म तोकिएको मितिमा रिलिज हुँदा अनमोललाई र उनको स्टारडमलाई घाटा त पक्कै हुनेछ सँगसँगै सम्बन्धित निर्मातालाई पनि । यो कुराले अनमोलको ६ महिने अन्तरको गफ पनि छायाँमा पर्नेछ । त्यसो त यी दुइ फिल्म पहिले अनमोल स्टारर ‘क्याप्टेन’ कार्तिक र मंसिर मध्ये एक महिनालाई रिलिजको लागी तयार हुनेछ, यो हुँदै गर्दा फागुनसम्मको अन्तर तीन महिना मात्रै हुनेछ ।
यदि एकै बर्षमा तीन फिल्म त्यो पनि हरेक महिना लगातारजसो रिलिज हुँदा निर्माताको चेपुवामा अनमोलको स्टारडम पर्नसक्छ । अघिल्लो बर्षको माघमा ‘कृ’ मार्फत पर्दामा आएका अनमोल त्यसयता ठुलोपर्दामा देखिएका छैनन् । जसले पहिलो रिलिजलाई जति फाइदा गर्नसक्छ त्यसको दोब्बर घाटा त्यसपछि रिलिज हुने फिल्मलाई पर्ने पक्का छ । अर्को अनौठो कुरा स्पोर्ट्स ड्रामा ‘क्याप्टेन’पछि सबैजसो फिल्ममा अनमोल लभर ब्वाइ नै हुँदा जनरा पनि एकै हुनेछ ।
एउटै अनुहारले काँध थामेका फिल्म लगातार पर्दामा आउनु भनेको त्यो अनुहारलाई मात्र नभइ सम्बन्धित सबै फिल्मलाई पर्ने घाटा हो । यसमा अनमोलले सँगै निर्माता निर्देशकले कति सोचेका छन् या सोच्दैछन् आफ्नो ठाउँमा होला । तर भविष्यमा पर्ने प्रभावलाई ख्याल गरेनन् भने अनमोलको मोल माथी प्रश्न गर्ने ठाउँ नआउला भन्न सकिन्न ।
यो पनि हेर्ने कि !