झरनाको ‘ए मेरो हजुर ३’ शुभ मुहर्त, पोखरामा अनमोल र सुहाना
अभिनेत्री निर्देशक झरना थापाले निर्माण गर्न लागेको फिल्म ‘ए मेरो हजुर ३’ को पोखरामा शुभ मुहर्त भएको छ । शनिबार लिड कलाकार अनमोल केसी र झरना पुत्री सुहाना थापाको उपस्थितीमा फिल्मको विन्दवासिनी मन्दिरमा पूजाआजा सहित शुभ मुहर्त गरियो ।
पूजासँगै अनमोल र सुहानाले मुहर्त दृश्य पनि दिएका छन् । फिल्मको छायाँकन केहि हप्तापछि सुरु हुने झरनाले बताइन् । ‘ए मेरो हजुर २’को सफलतापछि झरना पुनः निर्देशनमा होमिन लागेकी हुन् । फिल्मको निर्मातामा झरना पनि निर्माता सुनिलकुमार थापा हुनेछन् ।
थापा परिवारको होम प्रोडक्सनले आफ्नै छोरीलाई यो फिल्मबाट डेब्यू दिन लागेको हो । अमेरिका बस्दै आएकी सुहानाले पहिलो फिल्ममा नै सुपरस्टारको ट्याग पाएका अनमोल केसीसँग रोमान्स गर्नेछिन् ।
सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको प्रदर्शन मिति पनि तय गरिसकिएको छ । यो बर्षको अन्तिम साता अर्थात चैत्र २९ मा फिल्म प्रदर्शनमा आउनेछ । फिल्मका अन्य कास्ट एण्ड क्रियूको नाम सार्वजनिक गरिएको छैन ।
तश्विरः दिनेश सिटौला