३५ औँ जन्मदिन मनाउँदा ‘गोपी’ सेटमा बिपिनलाई बर्षाको सरप्राइज !
अभिनेता बिपिन कार्कीले आफ्नो ३५ औँ जन्मदिन छायाँकनरत फिल्म ‘गोपी’ सेटमा सेलिब्रेसन गरेका छन् । मंगलबार परेको जन्मदिनमा उनलाई अभिनेत्री बर्षा राउतले सरप्राइज दिइन् । बर्थडे केक सहित मिडियाकर्मी सहितको टिम सुटिङ सेटमा पुग्दा बिपिन आश्चर्यमा परेका थिए ।
केक काट्दै बिपिनले आफु सेलिब्रेसन प्रेमी नभएको तर साथीहरुबाट आफन्तजनबाट व्यक्त हुने खुशी नै आफ्नो खूशी हुने बताए । बर्षाले बिपिनलाई ‘अलटाइम फेव’ बताइन् । ‘जात्रा’देखि ‘गोपी’सम्म आउँदा जमिरहेको जोडीलाई उनले दर्शकको माया बोलिन् ।
पछिल्लो दुई बर्षदेखि बिपिनको बर्थडे आफुले सेलिब्रेट गर्दै आएको भन्दै बर्षाले परिवार बाहेकको पहिलो ‘विश’ आफैले गरेको बताइन् । बिपिनले आफु गिफ्ट प्रेमी नभएको पनि खुलाए ।
मंगलबारबाटै सेट ज्वाइन गरेका बिपिन अबको करिब १ महिना ‘गोपी’ सेटमा हुनेछन् । उनले बर्षासँगै अर्की अभिनेत्री सुरक्षा पन्तसँग रोमान्स गर्नेछन् । दिपेन्द्र लामाले निर्देशन गरिरहेको फिल्मको कथा सामिप्यराज तिमिल्सिनाको हो ।
यो फिल्ममा मणिकरण केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्मातामा छन् । आगामी चैत्र १५ लाई फिल्मको आधिकारिक प्रदर्शन मिति निर्माण टिमले तय गरिसकिएको छ ।