रिलिजको संघारमा ‘रोजी’ नाम परिवर्तन, बन्यो नयाँ टाइटल
रिलिजको संघारमा प्रदिप खड्का स्टारर फिल्म ‘रोजी’को टाइटल नाम परिवर्तन भएको छ । प्राप्त जानकारी अनुसार हालै निर्माण टिमले चलचित्र विकास वोर्डमा फिल्मको नयाँ टाइटल ‘रोज’ राखेको छ ।
केहि बर्ष पहिले काठमाडौंमा भएको रोजी महर्जन हत्या काण्डसँग कथावस्तु मिलेको भन्दै दिवंगत रोजीको परिवारले पटक पटक निवेदन गरेपछि निर्माण ब्यानर गोपिकृष्ण मुभिजले फिल्मको टाइटल परिवर्तन गरेको हो ।
काठमाडौं १५ निवासी रोजीको परिवारको तर्फबाट गोविन्द महर्जन र नानीमाया महर्जनले आफ्नो छोरीको हत्या घटनासँग कथा र परिवेश मिलेको भन्दै उक्त नाम नराख्न दवाद दिएपछि फिल्मको शिर्षक परिवर्तन गरिएको बताइएको छ ।
बिहिबार विकास वोर्डमा फिल्म निर्देशक निरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजीको परिवारबीच भएको बार्तापछि रोजी परिवारको दाबी उपर निर्णयमा पुग्दै निर्माण टिमले नाम परिवर्तन गरेको हो । योसँगै फिल्मको नाम ‘रोजी’ नराख्ने र सत्य घटनामा आधारित भनेर उल्लेख नगर्ने सम्झौता भएको बताइएको छ ।
भदौ २२ मा प्रदर्शनमा आउने फिल्मका निर्देशक पौडेलले नाम परिवर्तनको बारेमा प्रष्ट पार्दै भने, ‘मृतकको संवेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौँ, कानुनू रुपमा हामी माथी हुँदाहुँदैपनि कसैको सवेदनालाई बिक्री गरेर पैसा कमाउन हुन्न भन्ने मान्यता हाम्रो छ ।’
यो फिल्ममा प्रदिपसँगै मिरुना मगर, परमिता आर एल राना र कर्मा लिड रोलमा छन् । फिल्मको केहि दिन पहिले सार्वजनिक गीत हिट लिस्टमा परिसकेको छ ।