उदयिमान श्रेयाको स्वरमा आयो तीज गीत, मौलिकता झल्काउन माहिर कृष्ण (भिडियो)
उदयिमान गायिका श्रेया नेपालको स्वर समावेश पछिल्लो गीति भिडियो सार्वजनिक भएको छ । महिलाहरुको महान चाड मानिने हरितालिका तीज पर्व नजिकिँदै गर्दा यो चाडसँग जोडिएर सांगितिक कोशेलीहरु बजारमा आउने क्रम बढ्दो छ । यो बीचमा श्रेयाको स्वर रहेको पछिल्लो तीज गीत हालै सार्वजनिक भएको हो ।
हरेकजसो गीत बाहिर ल्याउँदा स्वरमा आफ्नो अब्बलता प्रस्तुत गरिरहेकी श्रेयाको तीज गीतमा पनि खास दम देखिन्छ । भिडियोको मेकिङलाई भुल्दैगर्दा गीत दर्शकलाई मन छुने प्रकारको छ । तीज गीतको नाममा बिकृति भित्रिरहेको, छाडापना बढिरहेको चर्चा चल्दैगर्दा गीतकार तथा संगीतकार कृष्ण कट्टेलले यो कुरालाई दलिलो प्रहार गरेका छन् ।
श्रेयाको स्वरमा संगीत भर्दै आफ्नै शब्दमा गीत बाहिर ल्याएका कट्टेलको गीतमा पुर्णतः नेपाली कल्चर झल्केको छ । ‘यो तीजमा माइतीको आगन’ बोलको गीतले नेपाली मौलिक परिवेश बोल्छ ।
गीतको भिडियोमा श्रृङ्गा कोइराला र पासाङ शेर्पा मुख्यतः फिचर छन् । दिपक तामाङले भिडियो निर्देशन गर्दा कोरियोग्राफी रामेश्वर जिरेलले गरेका छन् । गीतको भिडियोलाई पाटनको कृष्ण मन्दिरमा आसपास छायाँकन गरिएको छ ।