Logo

‘नाई नभन्नु ल’ निर्देशकले कार्यक्रममै माफी मागे !

मंगलबार फिल्म ‘नाई नभन्नु ल ५’ को गीत रिलिज गरियो । घोषित समय भन्दा झण्डै सवा घण्टा ढिला कार्यक्रम सुरु भयो । तर फिल्मको गीत रिलिज कार्यक्रम सुरु हुँदासम्म न त कोहि कलाकार उपस्थित थिए न त उक्त गीतका स्वर दिएकी गायिका मेलिना राई नै । सांगितिक डिपार्टमेन्टका बसन्त सापकोटा मात्रै एक्लै थिए ।

कार्यक्रम सुरु हुँदा नहुँदा हतारिँदै अभिनेत्री स्वस्तिमा खड्का पुगिन् । गीत देखाइयो । कार्यक्रम प्रस्तोताले टिम परिचय गराए, निर्देशक बोल्न नचाहँदा नचाहँदै थोरै बोले । तर शीर्ष गीत रिलिज हुँदा सोहि गीतमा स्वर दिएकी मेलिनालाई कसैले सम्झेनन् । न त सञ्चालकले नाम लिए । उता डिजिटल प्रोजेक्सनमा समेत उनको नाम उल्लेख पाइएन ।

यो बीचमा मिडियाकर्मीले स्वर कसले हो ? किन नाम लिइएन गायिकाको भन्ने प्रश्न राखेपछि निर्देशकले बल्ल जवाफ दिँदा सम्झे मेलिनाले पो गीत गाएकी हुन् ! अनि निर्देशक विकासराज आचार्यले नाम लिन भुलेको र उल्लेख गर्न नसकेकोमा माफी मागे । कार्यक्रमको उत्तरार्धमा मेलिना बल्ल आइपुगिन्, नाम सम्म नलिएका आचार्यलाई देख्नासाथ अंकमाल गरिन् ।

कार्यक्रमको मुख्य पाटो नै गीत संगीत हुँदा गायिकाको नाम नलिनु पक्का पनि संयोग थिएन । त्यसैले त आचार्यले केहि भावुक पाराले बोले, ‘म माफी चाहन्छु !’ गल्ति भएपछि माफी माग्नै पर्यो नी निर्देशक ज्यू !

तश्विरः बिनोद पोखरेल

Comments